कास्की । पोखराको नयाँपुलबाट घान्द्रुकतर्फ जाँदै गरेको ग १ ज ६९०० नम्बरको जिप अन्नपूर्ण गाउँपालिका–१० हुदु कलडाँडा भीरमा दुर्घटना हुँदा चालक सहित ८ जनाको घटनास्थलमै मृत्यु भएको कास्कीका प्रहरी प्रमुख एसपी रमेश थापाले जानकारी दिनुभयो ।
ज्यान गुमाउनेमध्ये ७ जना काठमाडौंबाट घान्द्रुक घुम्न गएका विद्यार्थी रहेको खुलेको छ ।
अर्का मृतक भने जीप चालक कास्की अन्नपूर्ण गाउँपालिकाका वासिन्दा हुन् । दशैं विदामा पोखरा घुम्न आएका काठमाडौं महानगरपालिका– ३ गोंगबुका विद्यार्थी र उनीहरुलाई लिएर घान्द्रुक जाँदै गरेका जिपचालक दुर्घटनामा परेका हुन् ।
दुर्घटनामा मृत्यु हुने जीप चालक अन्नपूर्ण गाउँपालिका– ५ का ४२ वर्षीय खुसीमान क्षेत्री छन् । यस्तै काठमाडौंबाट घुम्न जाँदै गरेका गोंगबुका १८ वर्षीय जिनलव घिसिङ, सोही ठाउँका २४ वर्षीया सुजा चौधरी, २० वर्षीया लिजा चौधरी, २० वर्षीय सुशन चौधरी, २२ वर्षीय अछुतम् काफ्ले, १८ वर्षीय आशिष आले, सोही ठाउँ बस्ने गोरखाका २७ वर्षीय विनय क्षेत्री एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाइते २० वर्षीय देविका घिसिङको सकुशल उद्धार गरिएको प्रदेश प्रहरी ले जनाएको छ ।
घान्द्रुक जाने सडक हुदु कलडाँडा भीरमा निकै बिग्रेको छ । उकालो र घुम्ती कटाउन लाग्दा जीप ब्याक भएर दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको घटनास्थल पुगेका कास्की प्रहरी प्रवक्ता डीएसपी सुवास हमालले जानकारी दिनुभयो ।
कच्ची र अप्ठेरो बाटोमा ब्याक भएर ब्रेक पनि नलागेका कारण दुर्घटना भएको स्थानीयले पनि बताएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।