रुपन्देही । बुटवलको मोतीपुरमा निर्माणाधीन औद्योगिक करिडोर क्षेत्रको जग्गाका विषयमा उत्पन्न भएको तनावका कारण कर्फ्यु आदेश जारी भएको छ ।
पूर्वमा तिनाउ नदी, पश्चिममा हरिहरपुरको खेतीयोग्य जमिन, उत्तरमा शिवनगर रानीगञ्ज बस्ती र दक्षिणमा बुटवल उपमहानगरपालिका– १८ स्थित औद्योगिक करिडोरसम्म निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जनाएको छ ।
मोतिपुर औद्योगिक क्षेत्रको जग्गा कब्जा गर्ने समूह र प्रहरीबीच झडप भएको हो । झडपका कारण मोतिपुर क्षेत्र तनावग्रस्त छ । प्रहरीले गोली चलाउँदा केही घाइते भएका छन् ।
रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले प्रहरीले गोली चलाएको पुष्टि गरे ।
जग्गा कब्जा गर्ने र प्रहरीबीच झडप हुँदा प्रहरीले गोली चलाएको प्रहरीले जनाएको छ । अस्थायी रूपमा बनाइएका टहराहरू प्रहरीले भत्काउन खोज्दा झडप भएको हो । झडपमा प्रहरीले अत्याधिक बल प्रयोग गरेको र दुई राउण्ड गोली चलाएको स्थानीयवासीले आरोप लगाएका छन् ।
राति १ बजे घर घेराउ गरी स्थानीय ३१ वर्षीय हिमाल रानालाई प्रहरीले पक्राउ गरेको पनि स्थानीयको भनाइ छ । बुटवल वडा नं १७ र १८ मा पर्ने औद्योगिक क्षेत्रको नदी उकास क्षेत्रमा गत सातादेखि ठूलो संख्यामा अस्थायी टहरा बनाएर जग्गा अतिक्रमण भएको थियो ।
प्रशासनले तीन दिनदेखि रातिमा टहराहरू भत्काउँदै आएको थियो। तर, त्यसरी पनि अतिक्रमित जग्गाबाट स्थानीय हट्न नखोजेपछि प्रहरीले आज बल प्रयोग गरेको हो । जग्गामा गत चैतमा औद्योगिक क्षेत्रको शिलान्यास गर्दा स्थानीयले विरोध गरेका थिए । करीब २ सय बिघा जग्गा सुकुम्बासीको नाममा कब्जा गर्ने प्रयास भइरहेको थियो ।
२०७२ चैत १ मा रुपन्देहीको मोतीपुरमा ५ वर्षभित्र औद्योगिक क्षेत्र निर्माण गर्ने घोषणा भएको थियो ।