काठमाडौं । माल्दिभ्समा जारी साफ च्याम्पियनसिप फुटबलमा नेपालले लगातार दोस्रो जित निकालेको छ । सोमबार राति भएको खेलमा श्रीलंकालाई ३–२ गोल अन्तरले पराजित गर्दै नेपालले लगातार दोस्रो जित निकालेको हो । नेपालको जितमा सुमन लामा, अन्जन विष्ट र आयुस घलानले एक एक गोल गरे ।
श्रीलंकाका मार्भिन ह्यामिल्टन र डिलोन डी सिल्भाले एक एक गोल फर्काए । रोमान्चक बनेको खेलको ३३ औं मिनेटमा सुमनले गोल गर्दै नेपाललाई सुरुआती अग्रता दिलाएका थिए । उनको यो नेपालका लागि डेब्यु गोल हो । खेलको ४६ औं मिनेटमा २५ यार्ड टाढाबाट अन्जनको फ्रिकिक श्रीलंकाका गोलकिपर तथा कप्तान सुजन परेराले मुश्किलले बचाए ।
५१ औं मिनेटमा अन्जनले गोल गर्दै नेपाललाई २–० को अग्रता दिलाए । खेलको ५७ औं मिनेटमा श्रीलंकाका काभिन्दु इशानको प्रहार नेपालका डिफेन्डर सुमन अर्यालले गोललाइनबाट बचाए । तर, ह्यामिल्टनले ५७ औं मिनेटमा २५ यार्ड टाढाबाट गोल गर्दै श्रीलंकालाई २–१ को स्थितिमा ल्याए ।
यस जितसँगै नेपाल तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। नेपालले २ खेलमा ६ अंक जोडेको छ । लगातार दोस्रो जितपछि नेपाल फाइनल नजिक पुगेको छ । नेपालले पहिलो खेलमा माल्दिभ्सलाई १–० ले हराएको थियो । श्रीलंकाको यो लगातार दोस्रो हार हो । पहिलो खेलमा श्रीलंका बंगलादेशसँग १–० ले पराजित भएको थियो ।
अब नेपालले तेस्रो खेलमा भारतविरुद्ध आगामी आइतबार प्रतिस्पर्धा गर्नेछ । यस्तै नेपालले लिग चरणको अन्तिम खेलमा बंगलादेशसँग अक्टोबर १३ (असोज २७) मा खेल्नेछ । यस संस्करणको साफ च्याम्पियनसिपमा ५ राष्ट्रको सहभागिता रहेको छ । यस पटक आयोजक माल्दिभ्स, नेपाल, भारत, बंगलादेश र श्रीलंकाको सहभागिता रहेको छ । लिगमा पाँचै टोलीले एक अर्काविरुद्ध खेल्नेछन् । लिग चरणको खेलपछि शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन्।