काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा र नेपाल लागि बंगलादेशका राजदूत सलाहुद्दिन नोमन चौधरीबीच शुक्रबार राजधानीमा भेटवार्ता भएको छ । महासंघको केन्द्रीय सचिवालय, टेकुमा नै भएको दुई पक्षबीचको भेटका क्रममा राजदूत सलाहुद्दिन र अध्यक्ष गोल्छाले दुई देशबीचको पारस्परिक, आर्थिक विकास तथा व्यापार सहजीकरणमा भूमिका खेल्ने बताएका छन् ।
भौगोलिक दूरीका हिसाबले जम्मा २७ किलोमिटर टाढा रहेको दुई मुलुकको व्यापरिक सम्बन्ध आशातीत रुपमा बलियो हुन नसकेको विषयमा छलफल गर्दै गोल्छा र चौधरीले आगामी दिनमा यसलाई सुदृढ बनाउन दुबै पक्ष प्रतिबद्ध रहेको बताए ।
नेपालको कुल व्यापारमा दक्षिण एशियामा बंगलादेश दोस्रो ठुलो व्यापार साझेदार रहेको तथ्याङ्कले देखाउँछ । तर पनि व्यापार तथा निकासी प्रबद्र्धन केन्द्रका अनुसार पछिल्लो आर्थिक वर्षमा नेपालले जम्मा ५.७ मिलियन डलर अर्थात् ५० लाख रुपैयाँ बराबरको निर्यात गर्दा उता (बंगलादेशबाट) अधिकतम ९०.६ मिलियन डलर अर्थात् ९ अर्ब रुपैयाँ बराबरको आयात गरेको छ ।
यसरी हेर्दा दुवै मुलुक बीचको द्विपक्षीय व्यापारमा ठूलो व्यापार घाटा नेपालले व्यहोर्दै आएको छ । नेपालले हाल मुसुर दाल, खाद्य प्रिपरेशन, गहुँको चोकर, रंगरोगनका सामग्री, वनस्पति तथा वनस्पतिजन्य वस्तुहरु लगायतका सामग्रीहरु निर्यात गर्दै आएको छ भने जुट, औषधि, विद्युतीय सामानहरु आयात गर्दछ ।
२०७८ असारसम्म नेपालमा कृषि तथा वनमा आधारित, उर्जा, आइटी, उत्पादनमुलक, खानी, सेवा र पर्यटन क्षेत्रमा गरी ७४ वटा संयुक्त लगानीका परियोजनाहरू रहेका छन् । व्यापार घाटा कम गर्न तथा आपसी आर्थिक सम्बन्धलाई थप विस्तार गर्न उर्जा, पर्यटन जस्ता क्षेत्रहरूमा सहकार्य गरेर अगाडि बढ्नुपर्नेमा दुबै पक्षले जोड दिएका छन् ।
सो अवसरमा राजदूत चौधरीको स्वागत गर्दै अध्यक्ष गोल्छाले बंगलादेश कम विकसित मुलुकबाट स्तरोन्नतीको प्रकृयामा रहेकोले सो सम्बन्धी अनुभव नेपालको लागि उपयोगी हुुने बताए । बंगलादेशले छोटो समयमा गरेको आर्थिक विकासको अध्ययन गर्न नेपाली व्यवसायीहरुको टोली स्थलमार्गबाटै भ्रमण गर्ने योजना रहेको बताउँदै अध्यक्ष गोल्छाले बंगलादेशसँग आर्थिक सम्बन्ध मजबुत बनाउन नेपाली निजी क्षेत्र लालायित रहेको र त्यसका लागि आर्थिक कुटनीतिमार्फत सहयोग गर्न आग्रह गरे ।
साथै उनले व्यापार घाटालाई कम गर्न नेपालबाट उर्जा निर्यात बलियो स्रोत हुने समेत बताए । भेटमा राजदूत चौधरीले द्वीपक्षीय व्यापार बढ्न नसकेकाले यसलाई गम्भीरतापूर्वक लिई सम्भावनाका पाटाहरु खोज्नुपर्ने बताए ।