काठमाडौं । नेपालको असल छिमेकी मुलुक विश्वमा ठूलो अर्थतन्त्र र शक्तिशाली मुलुकका रुपमा उदाएको छ । सन् १९४९ मा स्वतन्त्र भएपछि अहिलेसम्म चीनमा पाँच पुस्ताले नेतृत्व गरिसकेको छ । पहिलो पुस्ताका नेता माओत्से तुङदेखि वर्तमान नेतृत्व सी चिनफिङसम्म आइपुग्दा चीनले विश्वसामु आफूलाई चमत्कारिक रुपमा प्रस्तुत गरिसकेको छ ।
माओत्से तुङको नेतृत्वमा चीनमा संघर्ष र क्रान्तिका विभिन्न अभियानहरु सम्पन्न भएका थिए । माओकै नेतृत्व कालमा स्वाभिमानी चीनको निर्माण भएको थियो । त्यसो त दोश्रो पुस्ताको नेतृत्व तङ स्याओफिङले गरेका थिए । त्यतिखेर पहिलो पुस्ताले गरेको राजनीतिक विकास र परिवर्तनलाई संस्थागत गर्ने काममा उनी लागे । तङ स्याओफिङको नेतृत्व चीनका लागि अत्यन्तै महत्वपूर्ण मानिन्छ । उनकै कार्यकालदेखि चीनले आफूलाई खुलापनको नीति अंगिकार गर्दै चीनको स्वार्थमा विदेशी पूँजीलाई भित्र्याउने काम गरे । वास्तवमा आधुनिक चीनको आधारशिला नै तङ स्याओफिङको नेतृत्वबाट सुरु भएको थियो । यसैगरी चीनको पहिलो र दोश्रो पुस्ताले अंगीकार गरेको नीतिलाई तेश्रो र चौथो पुस्ताले समेत अगाडि बढाएको थियो भने पाँचौ पुस्ताका रुपमा वर्तमान राष्ट्रपति सी चिनफिङले अझै उचाइमा पुर्याउने काम गरे । उनले चीनको समृद्धिसँग विश्व परिवेशलाई समेत जोड्ने काम गरिरहेका छन् । स्वभाविक रुपमा चीनले आफूले गरेको समृद्धिलाई विश्वभरि नै फैलाउने अभियान अगाडि बढाइरहेका छन् । चिनियाँ कम्युनिष्ट पार्टीको सन् २०१८ मा सम्पन्न १८ औं महाधिवेशनदेखि सी चिनफिङ नेतृत्वमा आएपछि नयाँ युगको चिनियाँ विशेषतासहितको समाजवादले ठूलो सफलता हासिल गरिसकेको छ ।
चिनियाँ समाजवादले राष्ट्रिय पुनरुत्थानको चिनियाँ सपना साकार गर्न र जनताको उच्चस्तरीय जीवनको आवश्यकता पूरा गर्न मार्ग दर्शनको रुपमा काम गर्ने अपेक्षा पनि चीनले गर्दै आएको छ । विश्वव्यापी रुपमा देखिएका कुनै पनि चुनौतीलाई सहकार्यका माध्यमबाट मात्र समाधान गर्न सकिनेमा चीन सदैव सचेत रहेको चीनको शासन व्यवस्थाले समेत पुष्टी गरिसकेको छ ।
वर्तमान अवस्थामा चीनले प्राप्त गरेको समृद्धिका सफलताका आधारहरु के कस्ता रहेका छन् त ? चीनको शासन व्यवस्थाका मूलभूत आधारहरु के कस्ता छन् त ? चीनको नेतृत्वका पछिल्लो पुस्ता सी चिनफिङ नेतृत्वमा आएपछि चीनले अंगीकार गरेको मूलभूत सिद्धान्तहरुलाई आम पाठकहरुका बीचमा पस्कने पुस्तक ‘सी चिनफिङ चीनको शासन व्यवस्था खण्ड २’ प्रकाशित भएको छ । चीन अध्ययन केन्द्र र विदेशी भाषा प्रेस कम्पनी लिमिटेडले प्रकाशन गरेको नेपाली भाषामा अनुवादको संस्करणमा चीनका शासन व्यवस्थालाई मात्र उल्लेख गरेको नभइ यसले सम्पूर्ण विश्व समुदायको समृद्धिलाई समेत मार्गनिर्देश गर्न सक्ने अपेक्षा गरिएको छ । ‘सी चिनफिङ चीनको शासन व्यवस्था खण्ड–२’ मा सी चिनफिङको सन् २०१४ देखि सन् २०१७ सम्मका ९९ वटा मौखिक एवं लिखित् दस्तावेज संकलन गरिएको छ । पुस्तकमा ‘चिनियाँ विशेषताहरुसहितको समाजवाद तथा चिनियाँ सपना’ शीर्षकदेखि ‘बेल्ट एण्ड रोड’ पहल र ‘साझा भविष्यको समुदाय’ सहित विभिन्न १७ वटा शीर्षकका अन्य उप–शीर्षकमा राष्ट्राध्यक्ष सी चिनफिङका मन्तव्यहरुलाई समावेश गरिएको छ ।
चिनियाँ विशेषतासहितको समाजवाद तथा चिनियाँ सपना शीर्षकसहित पुस्तकको पहिलो भागमा चिनियाँ शासन व्यवस्थाका दोश्रो पुस्ता तङ स्याओफिङको विशेषताका बारेमा वर्तमान नेतृत्व सी चिनफिङको धारणा प्रस्तुत गरिएको छ । ‘चिनियाँ विशेषताहरुसहितको समाजवादको एउटा उज्ज्वल भविष्य’ उप–शीर्षकमा चिनियाँ राष्ट्रपति सी चिनफिङले २०१४ अगष्ट २० पूर्व चिनियाँ नेता तङ स्याओफिङको ११० औं जन्म जयन्तीका अवसरमा आयोजित गोष्ठीमा मन्तव्य दिँदै भनेका थिए, ‘तङ स्याओफिङको जनता र देशप्रतिको प्रेम मानवताको सबभन्दा प्रगाढ एवं बलवान संवेगहरु मध्येको एक प्रमुख अंगका रुपमा प्रदर्शित भएको छ । हामीहरुले उहाँबाट उदाहरण लिनुपर्छ र जनताको भलाइका लागि कठोर परिश्रम गर्नुपर्छ, जुनसुकै परिस्थितिमा पनि देश र जनताप्रति आस्थावान हुनुुपर्छ ।’
पुस्तकमा सीपीसी नेतृत्व चिनियाँ समाजवादका लागि अति आवश्यक छ शीर्षकमा सन् २०१४ सेप्टेम्बर ५ देखि २०१७ फ्रेबुअरी १३ सम्म सी चिनफिङले व्यक्त गरेका ९ वटा मुख्य भाषणहरु अंश समावेश गरिएको छ । सो अंशमा भनिएको छ, ‘सीपीसी केन्द्रीय समितिले अख्तियार पाएपछि मात्र एउटै दृढ चाहना भएको अभेद्य शक्तिको निर्माणमा सम्पूर्ण पार्टी सदस्यहरुको समाथ्र्यलाई एकिकृत गर्न र सिंगो पार्टी र राष्ट्रलाई संगठित गर्न सक्छ । सीपीसी केन्द्रीय समितिलाई अख्तियारी नदिएको भए पार्टीको सिद्धान्त, मार्गनिर्देशन र नीतिहरु कार्यान्वयन हुने थिएनन् ।’
पुस्तकमा चिनियाँ सपना जनताकै सपना हो शीर्षकमा सन् २०१५ सेप्टेम्बर २२ मा संयुक्त राज्य अमेरिकाको वसि«न राज्यको एिटलमा आयोजित स्वागत कार्यक्रममा राष्ट्राध्यक्ष सी चिनफिङले दिएको भाषणमा यस्तो भनिएको थियो, ‘सन् १९४९ मा जनगणतन्त्र चीनको स्थापना भएपछि र खासगरी १९७८ मा सुधार र खुलापनको थालनी भएयता चीनले एउटा असाधारण यात्रा पूरा गरेको छ, जसमा मेरा पुस्ताका मानिसहरु व्यक्तिगत रुपमा संलग्न भएका छन् ।’
पुस्तकको ‘समष्टिगत रुपमा मध्यम समृद्ध समाज ’शीर्षकमा प्रथम शतबार्षिकी लक्ष्य हासिल गर्दाको निर्णायक अवस्था उपशीर्षकमा २९ अक्टुबर २०१५ मा सीले व्यक्त गरेका मन्तव्य २३ जुन २०१७ मा अति विपन्न क्षेत्रहरुको गरिबी हटाऔं शीर्षकमा व्यक्त भनाईहरु समेटिएको छ ।
पुस्तकको तेश्रो भागमा अझ गहन सुधार शीर्षकमा स्वतन्त्र व्यापार क्षेत्र रणनीति कार्यान्वयनको बिषयलाई गम्भीरपूर्वक उठाउने कोसिस गरिएको छ । त्यसो त चौतर्फी सुधार व्यवस्थित, एकीकृत र समन्वयित हुनपर्दछ भन्ने सी को विचारधारालाई समेटिएको छ ।
चौथो भागमा कानुनी शासन व्यवस्थाका बारेमा चीनको अवधारणा र मान्यता के कस्तो रहेको छ भन्ने बारेमा विस्तृत रुपमा उल्लेख गरिएको छ । खासगरी समाजवादी कानुनको शासन प्रबद्र्धन गर्न चीन सदैव उद्दत रहेको, अधिकारीहरुले कानुनको पालनामा राम्रो उदाहरण प्रस्तुत गर्नुपर्ने, न्याय व्यवस्थामा सुधार गर्नुपर्ने र कानुनको शासन र सदाचारको शासन मिलाउनुपर्ने धारणा प्रस्तुत गरिएको छ ।
पुस्तकको पाँचौ भागमा कठोर अनुशासन बिना पार्टी सञ्चालन हुन नसक्ने कुरालाई गम्भीरतापूर्वक उठाइएको छ । यसको निम्ति राम्रो काउन्टी पार्टीको सचिव बन्ने अवधारणालाई प्रस्तुत गरिएको छ भने अनुशासन र नियमहरुको पालना गर्दै सीपीसीको केन्द्रीय समितिको मार्गनीतिको अनुसरण गर्न समेत प्रेरित गरिएको छ । पार्टीसम्बन्धी आचरणर्ला बढावा दिँदै, स्वच्छ, शासन पद्धतिको ग्रहण गरी भ्रष्टाचारविरुद्ध सबै एकताबद्ध भएर लड्नुपर्ने बिषयलाई यस भागमा समेटिएको छ ।
पुस्तकको छैठौ्र भागमा विकास सम्बन्धी नयाँ अवधारणाहरुलाई प्रस्तुत गरिएको छ । विकासलाई नयाँ अवधारणहरुबाट निर्देशित गर्नुपर्ने, विकासका नयाँ अवधारणाहरुबारे गहिरो समझदारी सहित त्यसलाई लागू गर्नुपर्ने बिषय यस भागमा समेटिएको छ ।
चीनले छोटो समयमा गरेको आर्थिक विकासका मूलभूत मान्यता र अवधारणाहरु के कस्ता रहेका छन् भन्ने बिषय पुस्तकको सातौ भागमा समेटिएको छ । आर्थिक कामकाजलाई न्यू नर्मल’ को अनुकूल बनाउनुपर्ने, चीनको आर्थिक विकासको ‘न्यू नर्मल’ भनेको के हो ? चीनको विज्ञान र वित्तिय प्रबन्धको सुदृढ, वित्तिय र स्वस्थ विकास जस्ता बिषय यस भागमा समेटिएको छ ।
पुस्तकको आठौं भागमा चीनको समाजवादी प्रजातन्त्रको बिषयलाई गम्भीरतापूर्वक उठान गरिएको छ । खासगरी चिनियाँ समाजवादको राजनीतिक पद्धतिमा आत्मविश्वास, विस्तृत, बहुस्तरीय र संस्थागत परामर्शदात्री प्रजातन्त्र, जातीय बिषयहरु र धर्मसम्बन्धी सीपीसीका नीतिहरु, सामाजिक संगठनहरुसँग पार्टीको काम लगायतका बिषयलाई प्रमुखताका साथ उठान गरिएको छ ।
यस्तै, चीनको कला, सँस्कृति अनि साहित्यका बिषयलाई पुस्तकको नवौं भागमा समावेश गरिएको छ । मूलतः चीनको परम्परागत संस्कृतिलाई सिर्जनात्मक किसिमले रुपान्तरण र प्रबद्र्धन, जनताको साहित्य र कला, जनताको आफ्नो दृढ निश्चयमा अटल रहेपछि राष्ट्रले उन्नति कसरी गर्छ ? चिनियाँ संस्कृतिमा आत्मविश्वास लगायतका बिषयहरुमा राष्ट्राध्यक्ष सीले व्यक्त गरेका विचारहरु समेटिएको छ ।
चिनियाँ जनताको सुख र सुस्वास्थ्यलाई कसरी सुधार गर्न सकिन्छ ? अनि त्यसका निम्ति चालिनुपर्ने आधारभूत सिद्धान्तहरुका बारेमा पुस्तकको दशौं भागमा विस्तृत रुपमा उल्लेख गरिएको छ । विशेष गरेर उक्त भागमा विश्वस्तरका विश्वविद्यालयहरु र बिषयक्षेत्रहरु तर्फ समाजवाद अन्तर्गत चिनियाँ विशेषताहरुसहितको सामाजिक शासन व्यवस्था कस्तो हुनेछ ? भन्ने बिषयलाई गहनताका साथ उठान गरिएको छ । उक्त भागमा राष्ट्राध्यक्ष सी ले कानुन व्यवस्था बनाइराख्नका लागि मोडल इकाइहरु र व्यक्तिहरुको राष्ट्रिय सम्मेलनका प्रतिनिधिहरुको बैठकमा बोल्दै भनेका छन्, ‘हाम्रा जनताहरु शान्तपूर्वक बाँच्न र काम गर्न पाउन् र सामाजिक स्थायित्व र शान्तिको उपभोग गर्न पाउन् भन्ने कुरा सुुनिश्चित गर्न हामीले हाम्रो सामाजिक शासन व्यवस्थाको पद्धतिलाई अरु बढी विकसित गर्नेछौं ।’
पुस्तकको एघारौं भागमा सुन्दर चीनको सपनालाई प्रतिबिम्बित गरिएको छ । चीनलाई सुन्दर बनाउनको निम्ति पर्यावरणीय प्रगतिलाई प्रोत्साहन दिनुपर्ने र वातावरणीय व्यवस्थापनलाई सुधार्नुपर्ने, स्वच्छ पानी र हरिया पहाडहरुलाई अमूल्य निधिका रुपमा संरक्षण गर्नुपर्ने, हरित विकासको ढाँचा र हरित जीवनशैलीका बारेमा खुलेर लाग्नुपर्ने जस्ता बिषयहरु उठान गरिएको छ ।
सेनाको राजनीतिक कार्यलाई प्रबल र बलियो बनाउँदै सुधार्दै गहन नागरिक–सैनिक समायोजनलाई अगाडि बढाउनुपर्ने बिषय पुस्तकको बाह्रौ भागमा प्रस्तुत गरिएको छ ।
मकाओमा ‘एक देश दुई शासन पद्धति’ अभ्यासमा भइरहेको प्रगति, शान्ति र विकासलाई सुदृढ पार्न अन्तर जलमार्ग सम्बन्धहरुमा हातेमाले गर्नुपर्ने, हङकङको दीर्घकालीन उन्नति र स्थायित्वका निम्ति ‘एक देश, दुई शासन पद्धति’ का बारेमा पुस्तकको तेह्रौ भागमा समेटिएको छ भने, एउटा प्रमुख देशका रुपमा चीनको कुटनीति कस्तो हुनुपर्दछ भन्ने बिषय बुझ्न सहज हुनेछ पुस्तकको चौधौं भाग अध्ययन गर्दा । विश्व परिवेशमा शासनव्यवस्थामा सहभागी हुन चीन सदैव तत्पर रहेको कुरा यस भागमा उल्लेख गरिएको छ । सन् २०१४ नोभेम्बर २८ मा विदेश मामिला सम्बन्धी केन्द्रीय सम्मेलनमा राष्ट्राध्यक्ष सी ले सम्बोधन गर्दै भनेका थिए, ‘हामीले चीनको सम्प्रभुता, सुरक्षा र विकासलाई रक्षा गर्न आफूलाई समर्पित गर्नुपर्छ, हाम्रो शान्तिपूर्ण विकासमैत्री अन्तर्राष्ट्रिय वातावरणलाई संरक्षण गर्नुपर्छ र चीनको सामरिक अवसरको यो महत्वपूर्ण समयअवधिबाट फाइदा लिनुपर्छ ।’ पुस्तकमा समेटिएको छ ।
पुस्तकको पन्ध्रौ भागमा चीन शान्तिपूर्ण विकास र अन्य देशहरुसँग सहकार्य गर्न इच्छुक रहेको बिषय उठाइएको छ । एशिया प्रशान्त क्षेत्र साझेदारीको आपसी विश्वास, समावेशीता, आपसी सहयोग र समान विजययुक्त प्रगतिमा चीन सदैव विश्वस्त रहने कुरा पुस्तकमा उल्लेख गरिएको छ । मूलतः शान्ति, विकास, सुधार र सभ्यताका लागि चीन–युरोपियन युनियन साझेदारी, चीन–अफ्रिका सहयोग र साझा विकासको नयाँ युग, चीन–अरब सम्वाद, चीन–रुस सम्बन्ध, चीन–संयुक्त अधिराज्य अमेरिका सम्बन्ध र ब्रिक्स सहयोगको सुनौलो यात्राका बारेमा पुस्तकको यस भागमा चर्चा गरिएको छ ।
पुस्तकको सोह्रौ भागमा चीनका राष्ट्राध्यक्ष सी चिनफिङको महत्वकांक्षी परियोजना ‘बेल्ट एण्ड रोड इनिसियटिभ्स्’ (विआरआइ) परियोजनाका बारेमा सैद्धान्तिक र व्यवहारिक अवधारणाका बारेमा उल्लेख गरिएको छ । विआरआइ पहलले जनतालाई लाभ प्रदान गर्ने मात्र नभइ यसले चीनसँग विश्व समुदायलाई समेत एकत्रित गर्न मद्दत पुग्ने कुरा उल्लेख गरिएको छ । सन् २०१७ मे १४ मा चीनका राष्ट्रपति सी चिनफिङले अन्तर्राष्ट्रिय सहयोगका लागि बेल्ट एण्ड रोग मञ्च उद्घाटन समारोहमा सम्बोधन गर्दै भनेका थिए, ‘इतिहास हाम्रो सबभन्दा राम्रो गुरु हो । प्राचीन रेशममार्गको प्रतिष्ठाले के देखाउँछ भने भौगोलिक दूरी पार गर्न नसकिने हुँदैन । यदि हामीले एकअर्कातिर साहसिलो पहिलो कदम बढायौं भने हामी मित्रता, साझा विकास, शान्ति, मेलमिलाप र राम्रो भविष्यको बाटोमा लाग्न सक्छौं ।’
आफ्नो मन्तव्यका क्रममा सीले अगाडि भने, ‘हामीले ब‘बेल्ट एण्ड रोड’लाई शान्तिको माग बनाउनुपर्छ । प्राचीन रेशममार्गले शान्तिको समयमा प्रगति गर्यो, र युद्धको समयमा तल झर्यो । एउटा शान्त र स्थायी वातावरण बिना ‘बेल्ट एण्ड रोड’ पहलमा अघि बढ्नु सम्भव छैन । हामी एकआपसमा लाभदायक हुने सहयोगको अन्तर्राष्ट्रिय सम्बन्धको सट्टा नमूनालाई मलजल गर्नेछौं । सबै देशहरुले एक अर्काको सम्प्रभुता, प्रतिष्ठा, क्षेत्रीय अखण्डता, विकासको मार्ग, समाजिक पद्धति र आन्तरिक चाहनाहरुलाई आदर गर्नुपर्छ र एक अर्काका प्रमुख सम्बन्धहरुलाई ठाउँ दिनुपर्छ ।’
पुस्तकको अन्तिम तथा सत्रौं भागमा साझा भविष्यको समुदाय शीर्षकमा जलवायु परिवर्तनमा सर्वपक्षीय जित, न्यायसंगत र सन्तुलित शासन व्यवस्थाको बिषयलाई स्पष्ट रुपमा प्रस्तुत गरिएको छ ।
चीनका राष्ट्राध्यक्ष सी चिनफिङले सन् २०१४ देखि २०१७ सम्म राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चहरुमा व्यक्त गरेका मौखिक तथा लिखित दस्तावेजका रुपमा ६ सय ३३ पृष्ठमा प्रकाशित प्रस्तुत पुस्तकमा २९ वटा सम्बन्धित तस्वीरहरु समेत समावेश गरिएको छ । पुस्तक अध्ययन पश्चात् चीनका राष्ट्रपति सी चिनफिङ विचारधाराको नयाँ युगको चिनियाँ विशेषताहरुसहितको समाजवादलाई सर्वपक्षीय मध्यम समृद्ध समाजको निर्माणलाई पूर्णताको निर्णायक तहमा पुर्याउन र जनताको उच्चस्तरीय जीवनको आवश्यकता पूरा गर्न मार्ग दर्शनको रुपमा बुझ्न सकिन्छ ।
- थापा क्यापिटल दैनिकका प्रधान सम्पादक हुन् ।