काठमाडौं । चितवन टाइगर्सले चौथो संस्करणको एभरेस्ट प्रिमियर लिग (ईपीएल) मा काठमाडौं किंग्स ११ माथि ३ विकेटको जित हात पारेको छ । जितको लागि १ सय ४२ रनको विजयी लक्ष्य पछ्याएको चितवनले १८.४ ओभरमा विकेट ७ गुमाउँदै पूरा गर्यो। चितवनका राजेश पुलामी २३ रनमा अविजित रहे। उनले २९ बलमा २ छक्का प्रहार गरे। कमलसिंह ऐरी २३ रनमा अविजित रहे ।
यस्तै, दिलिप नाथले २३, करिम जनतले २१, मोहमद साहजदले २१, भीम सार्कीले ६, सेकुगे प्रसन्नले ५ तथा इशान पाण्डेले ४ रन बनाए। कप्तान सोमपाल कामी शून्य रनमा आउट भए। काठमाडौंका रायल बर्ल र जितेन्द्र मुखियाले २/२ विकेट लिए। जनक प्रकाश, गुलशन झा र सन्दीप लामिछानेले एक/एक विकेट लिए। त्यसअघि टियू क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको काठमाडौंले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ४१ रन बनाएको थियो।
काठमाडौंका ओपनर सुवास खकुरेलले सर्वाधिक ३५ रनको योगदान दिए। उनले ३४ बलमा २ चौका र २ छक्का प्रहार गरे। राजु रिजालले २८, जनक प्रकाशले २६, रहमानउल्लाह गुर्बाजले ५, अमित श्रेष्ठले ६, अमर रौटेला ५, गुलशन झाले ४ रन जोड्दा रायन बुर्ल शून्य रनमा आउट भए।
सिद्दान्त लोहनी ८ तथा कप्तान सन्दीप लामिछाने ७ रनमा अविजित रहे। चितवनका स्पिनर सागर ढकालले ४ विकेट लिए। करिम जन्नतले २ विकेट लिए। शेकुगे प्रसन्ना र कमलसिंह ऐरीले १/१ विकेट लिए। पहिलो खेलमा चितवनले विराटनगर वारियर्सलाई २ विकेटले पराजित गरेको थियो। काठमाडौंले ललितपुरलाई ७ विकेटले पराजित गरेको थियो। लगातार दोस्रो जितसँगै चितवन ४ अंक जोड्दै साथ शीर्षस्थानमा उक्लिएको छ।
चितवनले अब शुक्रबार पोखरा राइनोजसँग खेल्ने छ। काठमाडौंले शनिबार भैरहवासँग खेल्ने छ।