काठमाडौं । चीन आफूले प्राप्त गरेको समृद्धिलाई विश्वभरि फैलाउने अभियानमा लागेको चीन विज्ञले बताएका छन् ।
हालै सार्वजनिक भएको ‘सी चिनफिङ चीनको शासन व्यवस्था खण्ड–२’ पुस्तकका बारेमा चीन अध्ययन केन्द्रले मंगलबार आयोजना गरेका सञ्चारकर्मीहरुसँगको अन्तरक्रिया कार्यक्रममा उनीहरुले यस्तो बताएका हुन् ।
कार्यक्रममा चीन अध्ययन केन्द्रका कार्यबाहक अध्यक्ष सुन्दरनाथ भट्टराईले चिनियाँ कम्युनिष्ट पार्टीको सन् २०१८ मा सम्पन्न १८ औं महाधिवेशनदेखि सी चिनफिङ नेतृत्वमा आएपछि नयाँ युगको चिनियाँ विशेषतासहितको समाजवादले ठूलो सफलता हासिल गरेको बताए ।
उनले भने, ‘चिनियाँ समाजवादले राष्ट्रिय पुनरुत्थानको चिनियाँ सपना साकार गर्न र जनताको उच्चस्तरीय जीवनको आवश्यकता पूरा गर्न मार्ग दर्शनको रुपमा काम गर्नेछ ।’
कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति एवं चीन अध्ययन केन्द्रका कोषाध्यक्ष गंगाप्रसाद उप्रेतीले विश्वमा शान्ति कायम गर्न कुनैपनि मुलुक आफूले मात्र समृद्धि हासिल गरेर नपुग्ने बुझाइमा चीनले राम्रो विश्लेषण गरेको बताए । उनले चीन आफ्नो समृद्धिसँगै छिमेकी र विश्व समुदायलाई समेत यसको साझेदारी बनाउन जिम्मेवार रहेको बताए ।
विश्वव्यापी रुपमा देखिएका कुनै पनि चुनौतीलाई सहकार्यका माध्यमबाट मात्र समाधान गर्न सकिनेमा चीन सदैव सचेत रहेको उप्रेतीले बताए ।
सी चिनफिङ चीनको शासन व्यवस्था पुस्तकले चीनका शासन व्यवस्थालाई मात्र उल्लेख गरेको नभइ यसले सम्पूर्ण विश्व समुदायको समृद्धिलाई समेत मार्गनिर्देश गर्न सक्ने उप्रेतीको धारणा थियो । उप्रेतीले ‘सी चिनफिङ चीनको शासन व्यवस्था खण्ड–२’ मा सी चिनफिङको सन् २०१४ देखि सन् २०१७ सम्मका ९९ वटा मौखिक एवं लिखित् दस्तावेज संकलन गरिएको बताए ।
उनले भने, ‘चिनियाँ कम्युनिष्ट पार्टीको १९ औं महाधिवेशनले अंगीकार गरेको सी चिनफिङ विचारधाराको नयाँ युगको विशेषतासहितको समाजवादको प्रारुप आंकलन गर्न पुस्तकले पाठकलाई आधिकारिक अवसर प्राप्त हुनेछ ।’
कार्यक्रममा चीन अध्ययन केन्द्रका सचिव प्रकाशबाबु पौडेलले चीनले प्राप्त गरेको समृद्धिको लाभ असल छिमेकीको नाताले नेपालले पनि लिन सक्ने बताए ।