काठमाडौं । एभरेष्ट प्रिमियर लिग क्रिकेट (ईपीएल) अन्तर्गतको मंगलबारका लागि तय पोखरा राइनोज र काठमाडौ किंग्स इलाभेनको खेल पनि स्थगित भएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा खेलका लागि दुवै टोली पुगे पनि पुनः पानी परेपछि खेल हुन नसकेको हो । आइतबारदेखिको वर्षाका कारण मैदान भिजेपछि खेल हुन नसकेको हो। दुई टोलीका कप्तान र अम्पायरबीच छलफल भएपछि खेल स्थगित गर्ने निर्णय भएको हो ।
मैदानको आउट फिल्ड सुकाउनका लागि मैदान कर्मचारीले भरपुर प्रयास गरे पनि मौसमले साथ नदिएपछि खेल हुन नसकेको हो। लगातारको वर्षाका कारण ३ खेल स्थगित भएसँगै बाँकी खेल तालिका कस्तो हुनेछ भन्ने अहिले नै एकीन गर्ने अवस्था छैन। ओसिलो आउट फिल्डकै कारण सोमबारका लागि तय दुई खेल टस समेत नभई स्थगित भएको थियो ।
सोमबार भैरहवा ग्लाडियटर्स र चितवन टाइगर्स तथा काठमाडौं किंग्स इलाभेन र विराटनगर वारियर्सबिचको खेल टस समेत नभइ स्थगित भएको थियो । यसअघि आइतबार पोखरा र भैरहवा ग्लाडियर्टसबीचको खेल जारी रहँदा पानी परेपछ दुवै टोलीले अंक बाँडेका थिए।