काठमाडौं । चालु आर्थिक वर्ष २०७८/७९ पहिलो महिना (साउन)मा नेपाल धितोपत्र बोर्डले ४ अर्ब ८२ करोड बराबरको धितोपत्र निष्कासन गर्न अनुमति दिएको छ। नेपाल राष्ट्र वैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०७७/०७८ को पहिलो महिनाको आर्थिक तथा वित्तीय स्थिति बारेको प्रतिवेदनअनुसार साउन महिनामा ३ अर्ब बराबरको म्युचुअल फण्ड, १ अर्ब ५७ करोड बराबरको साधारण सेयर र २४ करोड ३३ लाख बराबरको हकप्रद सेयर निष्कासनको अनुमति दिइएको हो।
२०७७ साउन मसान्तमा १३९१.५ रहेको नेप्से सूचकाङ्क २०७८ साउन मसान्तमा ३१६०.१ पुगेको राष्ट्र वैंकले जनाएको छ। २०७८ साउन मसान्तमा धितोपत्र बजार पूँजीकरण ४४१४ अर्ब पुगेको छ २०७७ साउन मसान्तमा बजार पूँजीकरण १८३७ अर्ब रहेको थियो । २०७८ साउनमा नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीहरूको संख्या २२० पुगेको छ । सूचीकृत कम्पनीहरुमध्ये १४४ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन् भने ४० जलविद्युत् कम्पनी, १९ उत्पादन तथा प्रशोधन उद्योग, ५ होटल, ४ व्यापारिक संस्था, ५ लगानी कम्पनी र ३ अन्य समूहका रहेका राष्ट्र वैंकको प्रतिवेदनमा उल्लेख छ।
२०७७ साउनमा सूचीकृत कम्पनीहरूको संख्या २०८ रहेको प्रतिवेदनमा उल्लेख छ। सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पूँजीकरणको हिस्सा ६८.२ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ । त्यसैगरी जलविद्युत कम्पनीको हिस्सा ९.८ प्रतिशत, लगानी कम्पनीको ८.४ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ३.९ प्रतिशत, होटेलको हिस्सा १.४ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ०.५ प्रतिशत तथा अन्य समूहका कम्पनीहरुको हिस्सा ७.८ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा २०७८ साउनसम्ममा सूचीकृत ५ अर्ब ८५ करोड सेयरको चुक्ता मूल्य ५७५ अर्ब ५० करोड रहेको प्रतिवेदनमा उल्लेख छ। आर्थिक वर्ष २०७८/७९ को पहिलो महिनामा १३ अर्ब ७५ करोड बराबरको डिबेन्चर, २ अर्ब ८८ करोड बराबरको साधारण सेयर, रु.५७ करोड ३९ लाख बराबरको बोनस सेयर र ५२ करोड ४१ लाख बराबरको हकप्रद सेयर गरी कुल १७ अर्ब ७३ करोड बराबरको थप धितोपत्र सूचीकृत भएको प्रतिवेदनमा उल्लेख छ।