काठमाडौं । विभिन्न देशमा चरेश तस्करी गर्ने एउटा गिरोहलाई लागुऔषध नियन्त्रण व्युरोले मंगलवार सार्वजनिक गरेको छ ।
फागुन २१ गते कतारको दोहा जाँदै गरेका दुई जनालाई चरेशसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेपछि गिरोह नै संलग्न रहेको खुलेको हो ।
दोहा जाँदै गरेको म्याग्दी मंगला गाउँपालिका–३ का ३६ वर्षीय श्यामप्रसाद रोका र सोही ठाउँका ३५ वर्षीय वीरबहादुर रोगालाई भदौ २१ गते बिहान ४ किलो ३५ ग्राम चरेशसहित पक्राउ गरेको थियो ।
सो घटनामा संलग्न रहेको भन्दै मंगला–३ का ४४ वर्षीय दिलबहादुर रोका, धादिङ गंगाजमुना गाउँपालिका–४ का ३३ वर्षीय अनिलबहादुर घले, सोही ठाउँका २८ वर्षीय सुनबहादुर गुरुङ, धादिङ खनियाबास गाउँपालिका–५ का २८ वर्षीय याङकी भन्ने जितबहादुर तामाङ र सोही ठाउँका ३६ वर्षीय माइला भन्ने कृष्णबहादुर तामाङलाई ब्यूरोले पक्राउ गरेको छ ।
अनुसन्धानका क्रममा कतार पठाउन लागिएको सो चरेश दिने व्यक्ति नुवाकोट विदुर नगरपालिका–१३ का ५२ वर्षीय सेसे भन्ने उर्पा तामाङ भएको खुलेपछि उनलाई सामाखुशीबाट पक्राउ गरिएको थियो । उनको डेरा खानतलासी गर्दा ऊनबाट बनाइएका विभिन्न रंगको हस्तकला (ह्यान्डिक्राफ्ट) २३ थान र नेपाली कागजबाट बनेको विभिन्न रंगको डायरी १६ थान लुकाइछिपाइ विदेश पठाउन तयारी अवस्थामा राखिएको चरेश ३ किलो ५७९ ग्राम, चरेशको पाता बनाउन प्रयोग गरिने औजारहरू, लुकाउन प्रयोग गरिने कार्टुन, गम, ¥यापिङ टेपलगायतका सामानहरू फेला परेको ब्यूरोको भनाइ छ ।
यस्तै उर्पासँग लागुऔषध कारोबारमा संलग्न भनिएका नुवाकोट विदुर नगरपालिका–९ का ३४ वर्षीय वीरबहादुर तामाङलाई उनको घरबाटै ब्युरोले पक्राउ गरेको थियो ।
अनुसन्धानका क्रममा उर्पा र वीरबहादुर तामाङ भारतीय नागरिकसमेतको संलग्नतामा भारत हुँदै हङकङ, थाइल्याण्ड, टर्कीलगायतका देशहरूमा लागुऔषध चरेश निकासी गर्दै आएको खुलेको ब्युरोले जनाएको छ ।
यस्तै पछिल्लो समय उनीहरूले मेथाम्फेटामिन (आईसीई) को धन्दा पनि गर्ने तयारी गरिरहेको ब्युरोको अनुसन्धानका क्रममा खुलेको छ ।
उर्पा २०५४ मा लागुऔषध हेरोइनसहित पक्राउ परी १९ वर्ष जेल सजाय भुक्तान गरिसकेका व्यक्ति हुन् । उनले विदेश जाने व्यक्तिहरूलाई विभिन्न तालिमसम्बन्धी नक्कली प्रमाणपत्रहरू बनाइ बिक्रीवितरण गर्दै आएको समेत खुलेको ब्यूरोले जनाएको छ ।