काठमाडौँ । नजिकिँदै गरेको दसैं, तिहार तथा छठलगायत पर्वलाई लक्षित गरेर महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक व्यवस्थापन विशेष सुरक्षा योजना सार्वजनिक गरेको छ । ट्राफिक प्रहरीको अधिकतम परिचालन, प्रभावकारी व्यवस्थापन, सहज सेवा पहुँचको व्यवस्था मिलाएर चाडपर्वलाई सुरक्षित, मर्यादित र व्यबस्थित बनाउने उद्देश्यका साथ महाशाखाले चाडपर्व विशेष सुरक्षा योजना आजदेखि लागु गरेको हो ।
‘‘चाडपर्वमा हुने सवारी चाप व्यवस्थापन, दुर्घटना न्यूनीकरण तथा यात्रुलाई पर्न सक्ने विभिन्न समस्यालाई सम्बोधन गरी सहज यात्राको प्रबन्ध मिलाउन सुरक्षा योजना लागु गरेका हौं, योजनाको प्रभावकारी व्यवस्थापन गर्न थप जनशक्ती परिचालन, जाँचमा कडाई र नागरिक सहायता कक्षा स्थापना गरी सेवा प्रवाह गर्ने योजना छ,” महाशाखाका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) जनक भट्टराईले भने ।
उनले बसपार्क, टिकट काउण्टर, अन्य भीडभाड हुने स्थल तथा यात्राको क्रममा कोरोना संक्रमण नियन्त्रणका लागि अपनाउनुपर्ने स्वास्थ्य मापदण्डको पालना भए नभएको चेकजाँच एव अनुगमन गर्ने, पूर्ण पालना गर्न लगाउने र सचेतना समेत जगाउने बताए ।
योजनासहितको विशेष चेकिङ
दैनिक रुपमा ४३ ट्राफिक प्रहरी कार्यालयले दिनमा चार पटकसम्म तालिका बमोजिमको चेकिङ्ग गर्दै आएको छ भने नाकाहरुमा २४सैं घण्टा जाँच हुने गरेको छ । चाडपर्वको समयमा हुने सवारी चाप व्यबस्थापन र दुर्घटना न्यूनीकरणका लागि जाँचलाई समेत कडाई पार्ने योजनामा उल्लेख छ ।
राति र दिनको समयमा मापसे जाँच गरि कडाई गरिने एसएसपी भट्टराईले बताए । ‘‘तिब्रगति नियन्त्रणका लागि नाइट भिजन लेजर स्पीड गन समेत प्रयोग गरिने छ । थानकोट, नागढुङ्गा, जगाती, फर्पिङ, साँखु, बालाजुबाइपास, मुड्खु, टोखालगायतबाट उपत्यका बाहिरिने सबै प्रकारका सवारी साधनहरुलाई नाकामा कडाइका साथ जाँच गर्ने महाशाखाको योजना रहेको छ । मुख्यतय लामो दूरीका सवारी साधनमा क्षमताभन्दा बढी यात्रु राखे नराखेको, बढी भाडा लिए नलिएको, चालकले मापसे गरे नगरेको, चालकको अवस्था, स्वास्थ्य मापदण्ड पालना भए नभएको चेकजाँच गरिनेछ,” एसएसपी भट्टराईले भने ।
महाशाखाले सार्वजनिक गरेको विशेष सुरक्षा योजनामा लामो दूरीका सवारी साधनमा २ जना चालक अनिवार्य रुपमा भए÷नभएको ट्राफिक प्रहरीको एप्सबाट समेत जाँच गर्ने उल्लेख छ ।
बढी भीडभाड हुने एरियामा थप ट्राफिक प्रहरी परिचालन
चाडपर्वको बेला किनमेल गर्ने र उपत्यका छाड्नेको बाक्लो उपस्थिति हुने एरियामा थप जनशक्ती परिचालन गर्ने महाशाखाको योजना छ ।
न्युरोड एरिया, ठमेल, कालीमाटी, कलंकी, बल्खु, कोटेश्वर, गौशाला, चाबहिल, बौद्ध, बालाजु, बसपार्कलगायत एरियामा बढी भिडभाड हुने कारण हुने बिगतको अनुभवलाई मनन गर्दै त्यस्ता क्षेत्रमा थप जनशक्ती परिचालन गरी ट्राफिक व्यवस्थापन एव पार्किङ्ग व्यवस्थापन मिलाइने र आवश्यक परेको खण्डमा न्युरोड, खिच्चा पोखरी, ईन्द्रचोकलगायत भित्री इलाकामा सवारी साधन डाइभर्सन समेत गरिने छ ।
१४ स्थानमा यात्रु सहायता कक्ष
उपत्यकाको १४ स्थानमा यात्रु सहायता कक्षहरु सञ्चालन हुने भएको छ । नागढुङ्गा, कलंकी, स्वयम्भू, माछापोखरी, नयाँबसपार्क, चावहिल, गौशाला, कोटेश्वर, जागती, सातदोबाटो, बल्खु, दक्षिणकाली, सुन्धारा र पुरानो बसपार्कमा सहायता कक्ष रहनेछन् ।
यात्रुलाई पाकेटमार तथा अन्य आपराधिक गतिबिधी र सुरक्षा सम्बन्धी सू–सूचित गर्न, स्वास्थ्य प्रोटोकलको पालना गर्न, टिकट तथा भाडा ठगी लगायतका यात्रुको गुनासो व्यवस्थापन गर्न, सहज यात्राको व्यवस्थासमेत यात्रु सहायता कक्षले गर्ने महाशाखाले जनाएको छ ।
सादा पोशाकमा ट्राफिक प्रहरी परिचालन
नियमित ट्राफिक व्यवस्थापनमा मात्र नभई चाडपर्वको समयमा हुन सक्ने सवारी चाप, यात्रुसँग बढी भाडा लिई हुने ठगी, यात्रुसँग हुने अमर्यादित व्यबहार, गन्तब्य नपुगी गाडीबाट ओरालदिने, स्वास्थ्य मापदण्ड पालना नगर्ने जस्ता समस्या आउन नदिन ट्राफिक प्रहरी सजग र सक्रिय रहने एसएपी भट्टराईले बताए ।
तोकिएको भन्दा बढी भाडा असुली गर्ने, लामो दूरीका सवारीमा दुईजना चालक नराख्ने तथा मापसे गरेर सवारी चलाएको शंका लागे तत्काल नजिकैको प्रहरी वा १०३ नम्बरमा जानकारी गराउन महाशाखाले अनुरोध गरेको छ ।