आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तराष्ट्रिय सिरिजको अन्तिम खेलमा नेपालले ओमानलाई पराजित गरेको छ ।
अल अमिरात क्रिकेट मैदानमा भएको खेलमा नेपालले घरेलु टोली ओमानलाई ७ विकेटले पराजित गरेको हो । यससँगै नेपालले एकदिवसीय अन्तराष्ट्रियमा ओमानमाथि पहिलो जित निकालेको छ ।
ओमानले दिएको १ सय २२ रनको लक्ष्य नेपालले १८ ओभर २ बलमा ३ विकेट गुमाएर पूरा गर्यो । नेपालको जितमा कप्तान ज्ञानेन्द्र मल्लले अविजित रहदै ५२ रनको अर्धशतकीय इनिङ्स खेले । लगातार दोस्रो अर्धशतक बनाउने क्रममा मल्लले ४६ बलमा ४ चौका र २ छक्का प्रहार गरे।
उनले यस अघि अमेरिकाविरुद्धको खेलमा अर्धशतक बनाएका थिए ।
यस अघि टस हारेर पहिले ब्याटिङ गरेको ओमानले ३७ ओभर १ बलमा अलआउट हुँदै १ सय २१ रन बनाएको थियो । ओमानका लागि कप्तान जिशन मक्सुदले सर्वाधिक ४१ रन बनाए । ओमानलाई सस्तैमा समेट्न करण केसी र सन्दीप लामिछानेले ४÷४ विकेट लिए ।
शरद भेषवाकरले २ विकेट लिए । यस जितसँगै नेपालले सिरिजको सुखद अन्त्य गरेको छ । सिरिजमा नेपालले खेलेको ४ खेलमा २ जित र २ हार व्यहोर्यो ।
सिरिजको पहिलो खेलमा नेपालले अमेरिकालाई ५ विकेटले हराएको थियो । दोस्रो खेलमा नेपाल ओमानसँग ५ विकेटले पराजित भएको थियो । तेस्रो खेलमा नेपाल अमेरिकासँग ६ विकेटले पराजित भएको थियो ।
यस जितपछि नेपालले ओमानविरुद्ध अघिल्लो खेलमा व्यहोरेको हारको बदला समेत लिएको छ । नेपालले आठ वर्षपछि ओमानलाई हराएको हो ।
ओमानलाई हराएपछि नेपाल लिग–२ को चौंथो स्थानमा समेत उक्लिएको छ । नेपालले ८ खेलमा ८ अंक जोडेको छ । ओमान १३ खेलमा २० अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।
अमेरिका १५ खेलमा १४ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।