एजेन्सी । फ्रान्सेली लिग वानमा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले लियोनलाई हराएको छ ।
आईतबार राति पीएसजीले लियोनलाई २–१ गोल अन्तरले हराएको हो ।
पीएसजीको जितमा नेयमार र इकार्डीले गोल गरे । लियोनका टोलेन्टिनो कोएल्हो डे लिमाले एक गोल फर्काए ।
खेलमा अग्रता पाहुना टोली लियोनले ५४ औं मिनेटमा लिमाको गोलमा लिएको थियो ।
नेयमारले ६६ औं मिनेटमा पेनाल्टीमा गोल गर्दै पीएसजीलाई बराबरीमा ल्याएका थिए ।
खेलको इन्जुरी समयमा केलियन एम्बाप्पेको पासलाई सदुपयोग गर्दै इकार्डीले विजयी गोल गरे ।
घरेलु मैदानमा पहिलो पटक उत्रिएका लियोनल मेस्सीका लागि पीएसजीको खेल सुखद रहेन । उनलाई दोस्रो हाफमा मैदान बाहिर निकालिएको थियो ।
मैदानबाट बाहिर निस्कदै गर्दा उनी प्रशिक्षक मौरिसियो पोचिटिनोको निर्णयमा असन्तुष्ट देखिन्थे । साथै प्लेयर बक्समा समेत उनी निराश देखिन्थे ।
पहिलो हाफमा उनको प्रहार पोस्टमा लागेर फर्किएको थियो भने गोलकिपर एन्थोनी लोप्सले समेत राम्रो बचाउ गरेका थिए । उनको स्थानमा आच्राफ हाकिमी मैदान छिरेका थिए । ३४ वर्षिय फरवार्ड यसै सिजन पीएसजी आएका हुन् ।
उनले पीएसजीका लागि तेस्रो खेल खेलको हुन् । फिटनेसकै कारण उनले ४० दिनपछि पीएसजीका लागि मैदान उत्रन पाएका थिए । उनले गत महिना रिम्सविरुद्ध प्राप्त जितमा दोस्रो हाफमा मैदान प्रवेश गरेका थिए ।
उनले च्याम्पियन्स लिगमा क्लब ब्रुग्सविरुद्ध प्राप्त १–१ को नतिजामा सुरुवाती रोजाइमा खेलेका थिए । पीएसजीले लिग वानमा आगामी बुधबार मेट्जसंग खेल्नेछ । पीएसजीले ६ खेलबाट सतप्रतिशत जित निकाल्दै १८ अंक सहित शीर्ष स्थानमा छ ।