काठमाडौं । पत्रकारद्वय हरिबहादुर थापा र नारायण अमृतले सरकारले प्रदान गर्ने पदक अस्वीकार गरेका छन् ।
सरकारले संविधान दिवस २०७८ का अवसरमा प्रदान गर्ने पदकको सूचीमा इकागज डटकमका प्रधान सम्पादक थापा र नेपाल समय डटकमका प्रधान सम्पादक अमृतको पनि नाम छ । तर, पत्रकारद्वय थापा र अमृतले सरकारले दिने निर्णय गरेको पदक अस्वीकार गरेका हुन् ।
सामाजिक सञ्जालमा स्टाटस लेख्दै इकागज डटकमका प्रधान सम्पादक थापाले आफूलाई नसोधी पदक प्राप्त गर्ने सूचीमा आफ्नो नाम आएको भन्दै अस्वीकार गरेको बताएका छन् ।
उनले मानपदवी, अलंकार, पदकको विकृति, पदक पाउनेको सार्वजनिक सुयोग्यताबारे समाचार–विश्लेषण–पुस्तकमार्फत लामो समयदेखि प्रश्न उठाइरहेको पनि बताएका छन् ।
यस्तै, नेपाल समय डटकमका प्रधान सम्पादक अमृतले भागबण्डाका आधारमा बाँडिएको पद आफूले अस्वीकार गरेको बताएका छन् । उनले बिनाखबर, बिनाप्रक्रिया र बिनामापदण्ड वितरण गरिने पुरस्कारमा दलीय भागबण्डाको स्पष्ट दपर्ण देखिएकाले आफूले अस्वीकार गरेको उल्लेख गरेका छन् ।
उनले पदकको सूचीबाट आफ्नो नाम झिक्न र यसरी दिने पुरस्कारका लागि आफू योग्य नरहेको बताएका छन् । सातौँ संविधान दिवसका–२०७८ का अवसरमा सरकारले ९ सयभन्दा बढीलाई पदक दिने निर्णय गरेको छ । यसअघि कार्टुनिस्ट रविन सायमिले सरकारबाट पदक नलिने घोषणा गरेका थिए ।