काठमाडौं । कोरोनाविरुद्धको थप ४४ लाख डोज भेरोसेल खोप नेपाल आइपुगेको छ । शुक्रबार दिउँसो २ बजे खोप लिएर नेपाल एयरलाइन्सको जहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको हो ।
सरकारले चीनबाट पछिल्लो समय ६० लाख डोज भेरोसेल खोप खरिद गरेको थियो । त्यसमध्ये १६ लाख डोज खोप यसअघि नै नेपाल आइसकेको छ । स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले सामाजिक सञ्जालमार्फत थप ४४ लाख खोप काठमाडौं आइपुगेको बताएका छन् ।
यो खोप कहिलदेखि लगाइन्छ ?
चीनबाट आइपुगेको खोप केही दिनभित्रै नागरिकलाई दिइने स्वास्थ्य सेवा विभागको खोप महाशाखाका निर्देशक डा. सागर दाहालले बताए ।
उनका अनुसार अहिलेसम्मको खोप कभरेजदर हेरेर खोप वितरण गर्न लागिएको छ । जसअनुसार हिमाली १० जिल्लाका १८ वर्षभन्दा माथिका नागरिकलाई खोप दिने योजना बनाइएको छ । ताप्लेजुङ, सोलुखुम्बु, रसुवा, संखुवासभा, मुगु, रसुवा, जुम्ला, हुल्ला, डोल्पा, बाजुरा, र दार्चुला जिल्लामा खोप अभियान सञ्चालन हुने दाहालको भनाइ छ ।
त्यस्तै, काभ्रे, चितवनमा ३५ वर्षभन्दा माथि, अन्य ५५ जिल्लामा ५५ वर्षभन्दा माथिका नागरिकलाई खोप दिइने छ । त्यसैगरी, काठमाडौं, भक्तपुर, ललितपुर, मकवानपुर, रामेछाप, सर्लाही र अछाममा ४० वर्षभन्दा माथिका नागरिकलाई खोप दिइने दाहालले जानकारी दिए ।