एजेन्सी । च्याम्पियन्स लिग फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) र एट्लेटिको मड्रिड क्लब बराबरीमा रोकिदा अन्य ठुला क्लबले सफलता हासिल गरेका छन् ।
गए राति भएको खेलमा म्यानचेस्टर सिटी, लिभरपुल, रियल मड्रिड जस्ता क्लबले जित हासिल गरेका हुन् ।
स्पेनिस क्लब रियल मड्रिडले सिरि एको इन्टर मिलानलाई १–० ले हराएको छ । समूह डीको खेलमा रियललाई जित दिलाउन रोड्रिगोले विजयी गोल गरेका थिए ।
वैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका उनले खेल सकिन एक मिनेट बाँकी छदाँ गोल गरेका थिए । सोही समुहको अर्को खेलमा माल्डोभनको क्लब सेरिफ तिरास्पोले युक्रेनको सख्तर डोकेस्कलाई २–० ले हरायो ।
अर्को खेलमा लिभरपुलले एसी मिलानलाई ३–२ गोल अन्तरले हराएको छ । लिभरपुलको जितमा मोहमद सलाहा र जोर्डन हेन्डरसनले गोल गरे । फिकायो तोमोरीको एक गोल आत्मघाति रुपमा लिभरपुलले उपहार पाएको थियो । मिलान क्लबकालागि एन्टी रेबिक र ब्राहिम डियाजुले एक एक गोल गरे । समूह बीको अर्को खेलमा स्पेनिस क्लब एट्लेटिको मड्रिड र एफसी पोर्टोले गोल रहित बराबरी खेल्दै अंक बाँडेका छन् ।
यस्तै, सेबेस्टियन हालर प्रेरित अजाक्सले च्याम्पियन्स लिगको यस सिजनको पहिलो खेलमा पोर्चुगलको स्पोर्टिङ लिस्वोनलाई ५–१ गोल अन्तरले हराएको छ । अजाक्सको जितमा हालरले एक्लै चार गोल गरे । डच टिमका लागि थप एक गोल स्टेभन बर्गुइसको नाममा रह्यो ।
समूह सीको अर्को खेलमा बोरुसिया डर्टमण्डले इस्तानबुलको बेसिक्टासलाई हराउँदै नयाँ सिजनको सुखद सुरुवात गरेको छ ।
यता, गोलको वर्षा भएको खेलमा म्यानचेस्टर सिटीले जर्मन क्लब आरबी लाइपजिगलाई ६–३ गोल अन्तरले हरायो । ज्याक ग्रिलिसले सिटीबाट च्याम्पियन्स लिगमा डेब्यु गरेको खेलमा उत्कृष्ट गोल गरेका थिए ।
अर्को खेलमा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन पीएसजी बराबरीमा रोकिएको छ । पीएसजीले बेल्जियनको क्लब ब्रुग्ससंग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको हो ।