काठमाडौं । नेपाल राष्ट्र बैंकले चाडपर्वलाई लक्षित गर्दै आउँदो असोज ४ गतेदेखि नयाँ नोट सटही गर्ने भएको छ ।
दसैँलाई लक्षित गर्दै राष्ट्र बैंकले बैंकहरूमा नयाँ नोट सर्कुलेसन सुरु गरिसकेको र असोज ४ गतेदेखि सर्वसाधारणलाई नयाँ नोट सटही सुविधा उपलब्ध गराउने राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक रेवतीप्रसाद नेपालले जानकारी दिए ।
यस वर्ष सर्वसाधारणलाई प्रतिव्यक्ति १८ हजार ५०० रुपैयाँसम्मको सटही सुविधा उपलब्ध गराउने उनले बताए । प्रतिव्यक्ति पाँच, १०, २०, ५० र १०० दरका नोटहरू मिलाएर अधिकतम १८ हजार ५०० रुपैयाँसम्म उपलब्ध गराइने उनले जानकारी दिए । असोज ४ देखि नेपाल राष्ट्र बैंकको बालुवाटारस्थित केन्द्रीय कार्यालय र सातवटै प्रदेशमा रहेका प्रादेशिक कार्यालयबाट नयाँ नोट सटही गर्न सकिने उनले बताए ।
यसबाहेक कोभिड–१९ को समयमा भिडभाड कम होस् भनेर वाणिज्य बैंकहरूबाट पनि आफ्ना ग्राहकलाई नयाँ नोट साट्ने व्यवस्था मिलाइएको उनले बताए ।
वाणिज्य बैंकहरूले नयाँ नोट सटहीको लागि एक चरण बैंकहरूलाई उपलब्ध गराइसकेको र सटही गर्दा नपुगेमा पुनः राष्ट्र बैंकबाट उपलब्ध गराइने उनले जानकारी दिए । अहिले राष्ट्र बैंकमा ठूला र साना दरका गरी २०० अर्ब नयाँ नोट रहेको उनले बताए ।
राष्ट्र बैंकले विगतदेखि नै दसैँमा नयाँ नोट साट्दै आएको छ । तर, पछिल्लो केही वर्षयता भने दसैँलाई लक्षित गर्दै नयाँ नोट साट्ने र दसैँ–तिहारलगायत चार्डपर्वमा नयाँ नोटमा पूजा गर्ने तथा रङ लगाउने गर्दा नोटको आयु घटेको भन्दै नयाँ नोट सटहीमा रोक लगाउनुपर्ने आवाज पनि उठिरहेको छ ।
नयाँ नोटमा रङ लगाउँदा त्यसको आयु घट्ने र नोटको आयु घट्दा नोट छपाइ खर्च बढ्ने गर्छ । नोट छपाइ खर्च बढ्नु भनेको राज्यकोषमाथि आर्थिक भार बढ्नु हो ।
राष्ट्र बैंकले नोटमा पूजा गर्न नहुने भन्दै पण्डित–पुरोहितलाई बोलाएर छलफल र चेतनामूलक कार्य गररिरहेको भए पनि त्यो प्रभावकारी हुन नसेको राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागकका कार्यकारी निर्देशक नेपाल स्वीकार गर्छन् ।