काठमाडौं– बंगलादेश र नेपालबीच भइरहेको दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलमा दुवै टिमले केही सुनौलो मौका पाएपनि सदुपयोग गर्न नसक्दा पहिलो हाफ गोलरहित बराबरीमा सकिएको हो ।
सुरुवातदेखिनै दबाबमा राखेको बंगलादेशी खेलाडीले खेलको पहिलो मिनेटमै मौका गुमाएको थियो ।
कप्तान सविना खातुनको कर्नर बललाई नेपाली गोलरक्षक अन्जना रानामगरले पञ्च गर्दै बचाएकी थिइन् ।
यस्तै, खेलको पाँचौं मिनेटमा श्रीमोती सरकार र मौसम्मत सोपनाले उत्कृष्ट मूभ बनाएपनि नेपाली डिफेन्डरले सफल हुन दिएनन् । त्यसलगत्तै उनीहरुको तालमेल नमिल्दा बंगलादेशले अर्को मौका खेर फाल्यो ।
त्यसपछि नेपालले पनि बंगलादेशमाथि दबाब बनाउने प्रयास गरेको थियो। खेलको ८औं मिनेटमा अमृता जैसीको प्रहार बंगालदेशी गोलरक्षकले सहजै नियन्त्रणमा लिइन्।
त्यसलगत्तै नेपालले अर्को मौका खेर फाल्यो। सरु लिम्बुले डिबक्स बाहिरबाट गरेको प्रहार फ्रेममा पर्न सकेन।
खेलको ११औं मिनेटमा बंगलादेशकी सरकारले उत्कृष्ट मूभ बनाउँदै नेपाली पोष्टमा प्रहार गर्न खोजेपनि अमृता बाधक बनिन्।
यस्तै, खेलको २०औं मिनेटमा सरुले गरेको प्रहार पोष्ट नजिकैबाट बाहिरिएको थियो।
खेलको ३०औं मिनेटमा हिराकुमारी भुजेललाई छक्काउँदै फार पोष्टबाट बंगलादेशी खेलाडी सरकारले गरेको प्रहार पोष्टमाथि लाग्दै बाहिरिएको थियो।
३७औं मिनेटमा पुजा रानाले डिबक्स बाहिरबाट फार पोष्टमा दिएको हाइ पासलाई कप्तान रेनुका नगरकोटोले टच गर्न सकिनन्।
खेलको ४२औं मिनेटमा नेपालले अर्को मौका खेर फाल्यो। बिमला चौधरीले बललाई अगाडि बढाउँदै प्रहार गर्न कोसिस गरेपनि बंगादेशका दुई डिफेन्डरले सफल हुन दिएनन्।