काठमाडौं । आइतबार शेयरबजारमा दोहोरो अंकको उछाल आएको छ । गत साता राताम्मे बनेको शेयरबजारलाई यो साताको पहिलो दिनले नै हरियो बन्दै स्वागत गरेको छ ।
आइतबार एकै दिन नेप्से सूचक ७१ अंकले बढेर २९४७ दशमलव ४२ अंकमा पुगेको हो । अघिल्लो साता निरन्तर घटेको शेयर बजारमा नयाँ साताको सुरुवातसँगै बजारमा बाउन्स ब्याक भएको हो ।
नेप्से बढे पनि कारोबार रकम भने अझै बढ्न सकेको छैन । यो दिन २ सय ३१ कम्पनीको १ करोड ७१ लाख कित्ता शेयर ९ अर्ब ४४ करोड रुपैयाँमा कारोबार भयो । योसँगै आज कारोबारमा आएका म्युचुअल फण्डबाहेक सबै उपसमूह हरिया बनेका छन् । जसमा जलविद्युत् उपसमूहको सूचक सर्वाधिक ६ दशमलव ३७ प्रतिशतले बढेको छ भने विकास बैंक ५ दशमलव १३, उत्पादनमूलक ४ दशमलव ५१, फाइनान्स ४ दशमलव ०८, निर्जीवन बीमा ३ दशमलव २६ प्रतिशतले बढेको छ । लगानी २ दशमलव ३१ प्रतिशत, होटल तथा टुरिज्म २ दशमलव २३, लघुवित्त २ दशमलव ०८ प्रतिशतले बढेको छ । जीवन बीमा, बैंकिङ, व्यापार सूचक १ प्रतिशतभन्दा धेरैले बढेको छ भने म्युचुअल फण्डको सूचक ० दशमलव २९ प्रतिशतले घटेको छ ।
योसँगै कारोबारमा आएकामध्ये १ सय ८९ कम्पनीको शेयरमूल्य बढेको छ । जसमा १४ कम्पनीको शेयरमूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको छ । योबाहेक २९ कम्पनीको शेयरमूल्य घटेको छ भने १३ कम्पनीको मूल्य स्थिर रहेको छ ।
आइतबारको बजारमा नेसनल हाइड्रोपावर, राष्ट्रिय बीमा कम्पनी, फस्ट माइक्रोफाइनान्स, अपि पावर, अरुण काबेली पावर, छ्याङ्दी हाइड्रोपावर, पाँचथर पावर कम्पनी, लिबर्टी इनर्जी नेपाल, सानिमा लाइफ इन्स्योरेन्ससहित ९ कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ भने थप पाँच कम्पनीहरू हिमालयन पावर पार्टनर, सिनर्जी पावर, ङादी ग्रुप पावर, शिवश्री हाइड्रोपावर र नेपाल हाइड्रो डेभलपरको शेयरमूल्य पनि ९ प्रतिशतभन्दा धेरैले बढेको छ ।
कारोबारमा भने अरुण भ्याली हाइड्रोकै वर्चस्व देखिएको छ । आज अरुण भ्याली हाइड्रोपावरको सर्वाधिक ७३ करोड रुपैयाँको शेयर कारोबार भएको छ । योसँगै युनाइटेड मोदी हाइड्रोपावर, अपि पावर, नेसनल हाइड्रोपावर र अपर तामाकोसीको सर्वाधिक शेयर कारोबार भएको छ ।