काठमाडौं । बंगलादेशका स्टार ब्याट्सम्यान तमिम इकवालले चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) भैरहवा ग्लाडिएटर्सबाट खेल्ने भएका छन् ।
आगामी असोजमा टी–२० ईपीएलका लागि शरद भेषावकरको कप्तानीमा रहेको भैहरवाले बंगलादेशका सर्वाधिक सफल ब्याट्सम्यान तमिमलाई अनुबन्ध गरेको शनिवार विज्ञप्तिमार्फत जानकारी दिएको छ ।
तमिम भैरहवाले अनुबन्ध गरेको तेस्रो विदेशी खेलाडी हुन् । यसअघि नै श्रीलंकन टोलीका पूर्वकप्तान तथा ओपनर उपल थरंगा र फास्ट बलर धम्मिका प्रसादलाई भैरहवाले अनुबन्ध गरिसकेको छ । श्रीलंकाकै दिनेश चन्डिमाललाई पनि भैरहवाले अनुबन्ध गरेको थियो तर राष्ट्रिय टिममा परेपछि चन्डिमाल ईपीएल खेल्न नआउने भएका छन् ।
थरंगा र तमिम अनुबन्ध भएपछि भैरहवाको ओपनिङ जोडी अनुभवी बनेको छ ।
३२ वर्षीय बायाँहाते तमिम बंगलादेशका सर्वाधिक सफल ब्याट्सम्यान हुन् । उनले बंगलादेशबाट ६४ टेस्ट, २१९ ओडीआई, ७८ टि–२० अन्तर्राष्ट्रिय खेल खेलेका छन् ।
तमिमसँग २२९ टी–२० खेलको अनुभव समेत छ । तमिम बंगलादेशबाट टेस्ट र ओडीआईमा सर्वाधिक रन बनाउने ब्याट्सम्यान हुन् भने उनी टी–२० आईमा बंगलादेशबाट सर्वाधिक रन बनाउनेमा दोस्रो स्थानमा छन् ।
२००७ देखि बंगलादेशबाट तमिमले निरन्तर अन्तर्राष्ट्रिय खेल खेल्दै आएका छन् । उनले टेस्टमा ९ शतक र ३१
अर्धशतकसहित कुल ४ हजार ७८८ रन बनाएका छन् । टेष्टमा उनको उत्कृष्ट प्रदर्शन २०६ रन छ । यस्तै ओडीआईमा १४ शतक र ५१ अर्धशतकसहित ७ हजार ६६६ रन बनाएका छन् । ओडीआईमा उनको उत्कृष्ट प्रदर्शन १५८ रन हो ।
तमिमले टी–२० आईमा १ शतक र ७ अर्धशतकसहित १ हजार ७५८ रन बनाएका छन् । उनी बंगलादेशबाट टी–२० आईमा शतक प्रहार गर्ने पहिलो र एक्लो क्रिकेटर हुन् । उनले सन् २०१६ को टी–२० विश्वकपमा ओमानविरुद्ध ६३ बलमा १०३ रनको अविजित शतकीय इनिङ्स खेल्दै इतिहास रचेका थिए ।
तमिलले सन् २०२० मार्चदेखि बंगलादेशको ओडीआई टोलीको कप्तानी सम्हाल्दै आएका छन् । आगामी अक्टोबर–नोभेम्बरमा युएई र ओमानमा हुने आईसीसी टी–२० विश्वकपबाट तमिमले आफ्नो नाम फिर्ता लिएका थिए । त्यसैले तमिम बिनानै बंगलादेशले टी–२० विश्वकप खेल्ने टोली घोषणा गरिसकेको छ ।
चौथो संस्करणको बजाज पल्सर ईपिएल आगामी असोज ९ देखि २३ (सेप्टेम्बर २५ देखि अक्टोवर ९) सम्म कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुँदै छ ।