नेपालले पपुवा न्युगिनी पीएनजीविरुद्धको दुई खेलको एकदिवसीय अन्तराष्ट्रिय सिरिज जितेको छ । हिजो भएको दोस्रो खेलमा पीएनजीलाई १ सय ५१ रनले हराउँदै नेपालले सिरिज २–० ले जितेको हो ।
पहिलो खेलमा नेपालले पीएनजीलाई २ विकेटको जित निकालेको थियो । नेपालको यो एकदिवसीय अन्तराष्ट्रियमा सर्वाधिक धेरै रन अन्तरको जित हो । यसअघि नेपालले २०१९ मा यूएईविरुद्ध १ सय ४५ रनको जित निकालेको थियो ।
नेपालले दिएको २ सय ३४ रनको लक्ष्य पछ्याएको पीएनजीले १९ ओभर १ बलमा अलआउट हुँदै ८२ रनमा समेटियो ।
ओमानको अल अमिरात क्रिकेट मैदानमा पीएनजीका लागि टोनी उराले सर्वाधिक १९ रन बनाए ।
पीएनजीलाई सस्तैमा समेट्न नेपालका सन्दीप लामिछाने एक्लैले ६ विकेट लिए । लेग स्पिनर सन्दीपले मात्र ११ रन खर्चिए । प्लेयर अफ दि म्याच बनेका सन्दीपको यो करियरकै उत्कृष्ट बलिङ हो । यस अघि सन्दीपको ६ विकेट १६ रन उत्कृष्ट बलिङ फिगर रहेको थियो ।
यस अघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४९ ओभर ३ बलमा अलआउट हुँदै २ सय ३३ रन बनाएको थियो । नेपालका लागि रोहित पौडेलले ८६ रनको अर्धशतकीय इनिङ्स खेले । रोहितले १ सय २३ बल खेल्दै २ चौका र ३ छक्का प्रहार गरे । एकदिवसीय अन्तराष्ट्रियमा उनको यो दोस्रो अर्धशतक हो ।
रोहितलाई राम्रो साथ दिएका अलराउण्डर करण केसीले ४२ रन बनाए । उनले २६ बलमा सो रन बनाएका हुन् । उनले २ चौका र ४ छक्का प्रहार गरे । तल्लो क्रममा ब्याट्सम्यान भने लगातार आउट भए । बिक्रम सोब १ रनमा पेभेलियन फर्किदा सन्दीप लामिछाने र सुसन भारी अंक नखोली आउट भए ।
नेपालको सुरुवात समेत राम्रो रहेन । ओपनर कुशल भुर्तेल र आरिफ शेख समान ३ रनमा आउट भएपछि दबाबमा आएको नेपालको इनिङ्स कप्तान ज्ञानेन्द्र मल्लले उकासेका थिए । उनले ७० बलमा ३ चौका र २ छक्काको मदतले ४५ रन बनाएका थिए । बिनोद भण्डारी १७ रनमा रन आउट भए । कुशल मल्ल १ र सोमपाल कामी ११ रनमा आउट भए ।
पीएनजीका चाड सोपरले सर्वाधिक ३ विकेट लिए ।
आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत ओमान र अमेरिकासँगको त्रिकोणात्मक एकदिवसीय सिरिज अघि नेपालले पीएनजीसँग सिरिज खेलेको हो ।