काठमाडौं । रोजगारीका अवसर खोजिरहेका व्यक्तिहरू र रोजगारदाताको सम्बन्धमा सुधार हुनुपर्नेमा यसका सरोकारवालाहरुले जोड दिएका छन् ।
नेपालको श्रम बजारको आवश्यकता श्रमिक आपूर्तिको अवस्थाका विषयमा श्रम बजार सूचना प्रणाली सम्बन्धी कार्यशालामा सहभागी सरोकारवालाहरुले यस्तो बताएका हुन् ।
निजी क्षेत्रका पाँचवटा छाता संगठनको (नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, घरेलु तथा साना उद्योग महासंघ र होटेल संघ नेपाल) सहभागितमा सञ्चालन भइरहेको इम्प्लोएर्स लेड लेबर मार्केट सचिवालय (इएलएमएस) परियोजनाले आयोजना गरेको कार्यशालामा नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले रोजगारीका अवसर खोजिरहेका व्यक्तिहरू र रोजगारदाताको सम्बन्ध स्थापित गर्न यो कार्यक्रमले महत्त्वपूर्ण भूमिका खेल्ने उल्लेख गरे। उनले निजी क्षेत्रका पाँचवटा संस्थाकोसहकार्यमा अघि बढेको यो कार्यक्रम भविष्यका लागि समेत उदारहण हुने उल्लेख गरे ।
कार्यक्रममा होटल संघ नेपालकी अध्यक्ष सिर्जना राणाले यस परियोजनाले पर्यटन क्षेत्रमा पनि पेशागत मापदण्ड र श्रम बजार सूचना प्रणालीको विकासले ठूलो योगदान पुग्ने बताइन् । कोभिड-१९ का कारण चरम आर्थिक मन्दीको सामना गरिरहेको पर्यटन क्षेत्रमा पनि यस परियोजनाले थप सहयोग गर्ने उनले बताइन् ।
नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रविसिंहले यस परियोजनाले श्रम जनशक्तिलाई प्रभावकारी र सहि सूचना दिने र रोजगारदाताको आवश्यकता अनुसार परियोजना पश्चात्को तालिम प्रदान गर्न मद्दत गर्ने बताए। नेपालको श्रमलाई नेपालमै रोजगार मिल्ने विषयमा अभिप्रेरित गर्ने उनले बताए।
नेपाल उद्योग वाणिज्य महासंघका कोषाध्यक्ष सुकुन्तलाल हिराचनले नेपाली श्रम बजारको आवश्यकता र श्रम शक्तिको आपूर्तिको जानकारी दिन यसले सहयोग गर्ने उल्लेख गरे । उनले नेपालमा श्रम शक्तिको आवश्यकताको जानकारी नहुँदा नेपाली श्रमिक विदेश जानुपर्ने र विदेशीहरूले नेपालमा आएर काम गर्नुपर्ने अवस्था रहेको बताए।
परिसंघका उपाध्यक्ष वीरेन्द्रराज पाण्डेले नेपालमा प्रतिस्पर्धी र सीपयुक्त जनशक्तिको ठूलो अभाव रहेको उल्लेख गर्दै संस्थागतरूपमा क्षमता विकासमा काम गर्नुपर्ने उल्लेख गरे।
नेपालको निजी क्षेत्रको समग्र विकासका लागि श्रम शक्तिको विकास गर्न पनि ईयलयमयस परियोजना अन्तर्गतको श्रम बजार सूचना प्रणालीले महत्वपूर्ण योगदान पुग्ने विश्वास लिएको छ। नेपालको निजी क्षेत्रले हाल सामना गरिरहेको श्रमको माग र उत्पादनको बेमेललाई न्यूनीकरण गर्न पनि श्रम बजार सूचना प्रणालीले गर्ने घरेलु तथा साना उद्योग महासंघका उपाध्यक्ष मोहन कटुवालले बताए ।
यस परियोजना अन्तर्गत निर्माण, कृषि र पर्यटन क्षेत्रसँग सम्बन्धित १/१ वटा पेशा छनौट गरी ती पेशासँग सम्बन्धित पेशागत मापदण्ड तयार हुनेछ। रोजगारदाता र दक्ष कामदारको प्रत्यक्ष संलग्नतामा पेशागत मापदण्ड तयार गरी त्यसलाई भविष्यमा बजारको मागअनुरूपका पाठ्यक्रम निर्माणका लागि सहयोगी बनाउने परियोजनाको उद्देश्य छ।
श्रम बजार सूचना प्रणालीको विकासका लागि पनि परियोजनाले काम गर्नेछ। यसअन्तर्गत पाँचवटा छाता संगठनका करिब ३ हजार सदस्य प्रतिष्ठानको सक्रिय सहभागितामा अध्ययन गरिनेछ। यो अध्ययनपछि श्रम बजारको वास्तविक सूचनासहित श्रम बजार सूचना प्रणाली पोर्टलुको विकास गरिनेछ। यस पोर्टलमार्फत नेपालको श्रम बजारको वास्तविक सूचना निजी क्षेत्र, सरकारी निकाय र सरोकारवालालाई महत्त्वपूर्ण हुनेछ। श्रम बजार सूचना प्रणालीलाई संस्थागत गर्ने र श्रम बजारको सूचना संकलन गर्ने उद्देश्यले कार्यक्रम अघि बढाइएको छ। यस कार्यक्रमले नेपालको श्रम बजारमा उपलब्ध श्रमिकको अवस्थाबारे जानकारी दिने कार्यक्रममा जानकारी दिइएको थियो ।