एजेन्सी । विश्वकपको युरोपेली छनोटमा इटालीले अपराजित खेलको नयाँ कीर्तिमान कायम गर्दा स्पेन र जर्मनले समेत सहज जित निकालेका छन् ।
बुधबार राति स्पेनले कोसोभोलाई २–० ले हरायो ।
वेस्ट ह्याम मिडफिल्डर पाब्लो फोर्नाल्सले डेब्यु खेलमै गोल गरेपछि स्पेनले विश्वकपमा सिधै छनोट हुने सम्भावना बढाएको छ ।
उनले ३२ औं मिनेटमा कठिन कोणबाट गोल गर्दै टिमलाई अघि बढाएका थिए । म्यान्चेष्टर सिटीका फेरान टोरेसले स्पेनको अग्रतालाई दोब्बर बनाउने काम गरे ।
लुइस एनरिके नेतृत्वको स्पेन १३ अंक सहित समुह बीको शीर्ष स्थानमा छ । स्पेनले दोस्रो स्थानको स्विडेनसंग चार अंकको अग्रता लिएको छ ।
स्विडेनले दुई खेल कम खेलेको छ । उसले ग्रिकसंग २–१ को हार पनि ब्यहोरेको छ ।
यस्तै, अर्को खेलमा जर्मनीले आइसल्याण्डलाई ४–० ले हरायो ।
जर्मनीको जितमा इङ्लिस क्लब चेल्सीका खेलाडीद्धय एन्टोनी रुडिगर र टिमो वार्नरले एक एक गोल गरे । बायर्न म्युनिखका जोडी सर्ज गेनाब्री र लिरो सानेले समेत एक एक गोल थपे ।
जर्मनी समूहको शीर्ष स्थानमा छ । तर दोस्रो स्थानको अर्मेनियासंग चार अंकको अग्रता लिएको छ । अर्मेनियाले भने लिचेस्टाइनसंग बराबरी खेल्दै अंक बाँड्यो ।
विश्व नम्बर एक बेल्जियमले अपराजित यात्रालाई कायम राख्ने क्रममा बेलारुसलाई १–० ले हरायो ।
लेस्टर सिटीका मिडफिल्डर डेनिस प्रितले टिमका लागि विजयी गोल गरेका थिए । उनी यस सिजन लामो समयको लोनामा सिरि ए क्लब नापोली आएका छन् ।
अर्को खेला इटालीले लियुनियालाई ५–० गोल अन्तरले हरायो ।
युरोपियन च्याम्पियन इटालीले ३७ खेलसम्म अपराजित रहने पहिलो राष्ट्रिय टिमको कीर्तिमान बनाएको छ ।
आईतबार स्विटजरल्याण्डसंग गोल रहित बराबरी खेलेको इटालीले नयाँ कीर्तिमान कायम गरेको हो ।
रोबर्ट मानचिनी नेतृत्वको टिमलाई जित दिलाउन एभर्टनका फरवार्ड मोइस केनले दुई गोल गरे । उनी लोनमा युभेन्ट्स आएका छन् ।
इटालीको जितमा गिभानी डी लोरेन्जो, जियाकोमो रासपाडोरी एक एक गोल गरे । अजुरीले एडगारस उत्कुसको एक आत्मघाति गोल उपहार पाएको थियो ।
इटालीले पछिल्लो हप्तानै सर्वाधिक अपराजित टिमको कीर्तिमान ब्राजिलसंग बराबरी गरेको थियो । ब्राजिल सन् १९९३ देखि १९९६ सम्म ३६ खेलमा अपराजित रहेको थियो । इटालीले राष्ट्रिय टिमको इतिहासमा पहिलो पटक ३० मिनेटभित्र चार गोल गरेको हो ।
सन् २०१८ मा नेसन्स लिगमा पोर्चुगलसंग पराजित बनेपछि इटाली अपराजित छ ।
इटाली समूह सीको शीर्ष स्थानमा छ । उसले दोस्रो स्थानको स्विटजरल्याण्डसंग ६ अंकको अग्रता लिएको छ । तर स्विटजरल्याण्डले दुई खेल कम खेलेको छ ।
यता, अन्तिम समय सम्हालिन नसक्दा इङ्ल्याण्डले पोल्याण्डसंग बराबरी खेल्दै अंक बाडेको छ । पोल्याण्डले खेलको अन्तिम समयमा गोल फर्काउदै इङ्ल्याण्डसंग अंक खोस्न सफल बन्यो ।
इङ्लिस टिमका ह्यारी केनले ७२ औं मिनेटमा गोल गर्दै पाहुना टोलीलाई अघि बढाएका थिए ।
खेलको इन्जुरी समयमा रोबर्ट लेवान्डोस्कीको उत्कृष्ट पासलाई सदुपयोग गर्दै वैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका डेमियन स्जिमास्कीले बराबरी गोल फर्काए ।
इङ्ल्याण्डले मुख्य फरवार्ड लेवान्डोस्कीलाई कडा निगरानीमा राखेको थियो । तर खेलको अन्तिम मिनेटमा उनले उत्कृष्ट क्रस निकाल्न भ्याए ।
ग्यारेथ साउथगेटको टिमले पोल्याण्डलाई खेल अवधिभर दबाबमा राखेको थियो । घरेलु टिमविरुद्ध इङ्ल्याण्डले उत्कृष्ट प्रर्दशन गरेको थियो । तर खेलको अन्तिम समय सम्हालिन नसक्दा इङ्ल्याण्डले निराशाजनक बराबरी ब्यहोर्न पुग्यो ।