काठमाडौं । एमसीसी उपाध्यक्ष फातिमा सुमार र सहायक उपाध्यक्ष जोनाथन ब्रुक्स नेपालको चारदिने भ्रमणमा आज काठमाडौं आउदैछन् ।
आउनुअघि हिजो उपाध्यक्ष सुमारले एमसीसीबारे नेपाली जनस्तरमा उठेको प्रश्नसहित सरकारले पठाएको पत्रको जवाफ पठाएकी थिईन् ।
उनले नेपालस्थित अमेरिकी दूतावासमार्फत जवाफ पठाएकी थिईन् । हिजोनै पत्र अर्थ मन्त्रालय पुगेको छ ।
एमसीसीले सम्झौताभन्दा नेपालको संविधान स्वतः माथि हुने र यो अनुदान कुनै पनि सैन्य रणनीतिसँग सम्बन्धित नहुने स्पष्ट पारेको छ । साथै भइसकेको सम्झौता अब संशोधन नहुने जानकारी पनि गराएको छ ।
नेपाल सरकार, अर्थ मन्त्रालयले सम्झौतासँग सम्बन्धित सरोकार सूचीकरण गरेर गत शुक्रबार वासिङ्टन डीसीस्थित एमसीसी मुख्यालयलाई पत्राचार गरेको थियो ।
सुमारले अर्थमन्त्री जनार्दन शर्मालाई सम्बोधन गर्दै स्पष्ट पार्ने अवसर दिएकामा नेपाल सरकारको प्रशंसा गरेकी छिन् । उनले एमसीसी सम्झौता संसद्बाट अनुमोदनका लागि अघि बढाउन सकारात्मक पहल गरेकामा धन्यवाद समेत दिएकी छिन् ।
उनले एमसीसी संसद्बाट सकारात्मक रूपमा अनुमोदन गर्नका लागि नेपाली जनतासँग खुला र पारदर्शी रूपमा संवाद गर्न तयार रहेको पनि बताएकी छिन् ।
अघिल्लो पटक आफू नेपाल आउँदा हरेक दलका नेताले सकारात्मक प्रतिक्रिया दिए पनि ‘दुर्भाग्यवश’ पछिल्लो समय भ्रामक भनाइ बाहिर आएकामा चिन्ता व्यक्त गरेकी छिन् ।