काठमाडौं । काठमाडौंको वसन्तपुर स्थित ऐतिहासिक तथा पुरातात्विक महत्वको सम्पदा काष्ठमण्डपको छानो छाउने काम सुरु गरिएको छ ।
२०७२ साल वैशाख १२ गते आएको विनाशकारी भूकम्पले ध्वस्त बनाएको सो सम्पदाको पुनर्निर्माणको काम अन्तिम चरणमा पुगेपछि छानो छाउने काम सुरु गरिएको हो ।
सातौं शताब्दीमा बनेको सो सम्पदामा मौलिक प्रविधिकै प्रयोग गरेर झिँगटीको छानो छाउने काम सुरु गरिएको काष्ठमण्डप पुनर्निर्माण समितिका अध्यक्ष राजेश शाक्यले जानकारी दिए । उनले सो सम्पदाको पुनर्निर्माणको काम सम्पन्न गर्न अझै केही महिना लाग्ने पनि स्पष्ट पारे। समितिले पुरानै मौलिकतालाई कायम राखेर सो सम्पदा पुनर्निर्माणको काम सम्पन्न गरेर विश्वलाई नै नमूना उदाहरण पेश गर्न सक्षम हुने दावी समेत गरेको छ ।
समितिका अध्यक्ष शाक्यले भने, ‘यो सम्पदाको पुनर्निर्माणको काम नियमित भइरहेको छ। यो काम अब अन्तिमतिर आइरहेको छ। अब हामीले झिँगटी छाउने काम गरिरहेका छौं। अब यो काम सम्पन्न गर्न अझै केही महिना लाग्छ। काष्ठमण्डपको ऐतिहासिकतालाई बचाएर यसको पुनर्निर्माण हुन्छ। काष्ठमण्डप आफैंमा काठमाडौंको ठूलो मौलिक सम्पदा हो। सातौं शताब्दीमा बनेको काष्ठमण्डप यसको मौलिकतालाई बचाएर पुनर्निर्माण गर्नु ठूलो उपलब्धि हो। यो सम्पदा पुरानै प्रविधिबाट निर्माण गर्नु विश्वकै लागि नमूना हो।’
हालसम्म यो सम्पदाको पुनर्निर्माणका लागि ११ करोड ५० लाख रुपैयाँ खर्च गरिएको छ। काठमाडौं महानगरपालिकाको अनुदान सहायतामा भइरहेको पुनर्निर्माणको काम छिटो सम्पन्न गरी उद्घाटन गर्ने योजना तय गरिएको समितिका अध्यक्ष शाक्यले बताए ।
काठैकाठको प्रयोग, झिँगटीको छाना, चारकुने इँटका गारो, लेसाइलो मोटाईको लिपाई र मिहिन बुट्टा कुँदिएका काठको विशाल संरचना थियो–काष्ठमण्डप । समितिले सोही मौलिक प्रविधिको उपयोग गरी यसको पुनर्निर्माण गरेकाले काम सम्पन्न गर्न समय लागेको पनि स्पष्ट पारेको छ ।
करिव १९ करोड लागत अनुमान गरिएको सो ऐतिहासिक तथा पुरातात्विक महत्वको सम्पदाको पुनर्निर्माणको काम अब छिट्टै सक्ने समितिको योजना छ । सोही योजना अनुसार छानो छाउने कामलाई सुरु गरिएको समितिका अध्यक्ष शाक्यले बताए ।