काठमाडौं । ललितपुर महानगरपालिकाको पाटन दरबार क्षेत्र रहेको ‘पाटन सङ्ग्रहालय’ भोलिदेखि खुला गरिने भएको छ । ललितपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालले भोलिदेखि सङ्ग्रहालयलगायत दरबार क्षेत्रका अन्य पर्यटकीय स्थलसमेत खुलाइने जानकारी दिए।
निषेधाज्ञासँगै गएको बैशाख १६ गतेदेखि सङ्ग्रहालय बन्द गरिएको थियो । कोभिड-१९ अघि दैनिक झण्डै चारदेखि पाँच सय आगन्तुकले सङ्ग्रहालय भ्रमण गर्ने गरेको थिए । दरबार क्षेत्र खुलाउने कुरा अघि बढेसँगै आफूहरू तयारी अवस्थामा रहेको पाटन दरबार सङ्ग्रहालयका निमित्त कार्यकारी निर्देशक सुरेशमान लाखेले बताए ।
पाटन सङ्ग्रहालय नजिकैको दरबार स्क्वायर क्षेत्र भने सधैँजसो हरेक उमेर समूहका मानिसले भरिभराउ हुने गरेको देखिन्छ । दरबार क्षेत्रलाई युनेस्कोले विश्व सम्पदा क्षेत्रमा घोषणा गर्नाका साथै विश्व हस्तकला परिषद्ले समेत ३५ औँ कला नगरि घोषणा गरिसकेको छ ।
यो क्षेत्रमा देशकै शिखर शैलीमा ढुङ्गैढुङ्गाबाट बनेको २१ गजुर भएको कृष्ण मन्दिर अनि भीमसेन मन्दिर तथा चारनारायण मन्दिर र नरसिंह मन्दिर रहनाका साथै अशोक स्तम्भ र हिरण्यवर्ण महाविहार आदिसमेत रहेका छन्।
पाटनमा सबैभन्दा लामो मच्छिन्द्रनाथ रथयात्रा, भोटो देखाउने जात्रा, भीमसेन खटजात्रा, कार्तिक नाच, कृष्ण जन्माष्टमी पर्व, कुम्भेश्वर मेला आदि पनि मनाइन्छ । पाटन परम्परादेखि चीनको खासा, ल्हासा र भुटानको थिम्पुसम्म हस्तकलाको व्यापार गर्ने व्यापारीहरूको पुरानो थलो पनि हो ।