काठमाडौं– मनसुन सुरु भएयता देशका विभिन्न ठाउँमा बाढी, पहिरो र डुवानमा परेर ११६ जनाको मृत्यु भएको छ ।
गत जेठ ३० गते यता शुक्रबार (भदौ १७ गते) दिसँसोसम्म बाढी, पहिरो र डुवानमा परी देशभर ११६ जनाको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ ।
मृत्यु हुनेहरूमा ५३ जना पुरुष, ३४ जना महिला, १३ जना बालक र १६ जना बालिका रहेका प्रहरीले जानकारी दिएको छ ।
बाढीपहिरो र डुबानमा परी उक्त अवधिमा १ सय ३६ जना घाइते भएका छन्। घाइते हुनेमा ६८ जना पुरुष, ३७ जना महिला, २० जना बालक र ११ जना बालिका रहेका छन् ।
साथै बाढी तथा पहिरोमा परी ३१ जना बेपत्ता भएका छन्। बेपत्ता हुनेमा १९ जना पुरुष, ६ जना महिला, ५ जना बालक र १ जना बालिका रहेका प्रहरीले जानकारी दिएको छ। वेपत्ताको खोजी कार्य जारी रहेको प्रहरीको भनाइ छ ।
बाढीको कारण ३ हजार १ सय ८२ वटा घर डुबानमा परेका छन्। ९ सय ७८ वटा घर, १ सय ६४ वटा गोठ, ६६ वटा पुल, ८ वटा विद्यालय र १५ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ भने १ हजार ३ सय ३ वटा पशु चौपायको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
मनसुन सुरु भएयताको अवधिमा भएका जम्मा १ हजार ३ सय ४५ वटा विपत्को घटनाबाट १ हजार २ सय ६९ वटा घर परिवारका ६ हजार १ सय ११ जना मानिस विस्थापित भएका प्रहरीले जानकारी दिएको छ ।