काठमाडौं । उपत्यकाका सडक-चोकमा थुप्रिएको फोहोर बुधबार बिहानदेखि उठ्ने भएको छ। काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यको संयोजकत्वमा काठमाडौँका प्रमुख जिल्ला अधिकारी, सडक विभागका महानिर्देशक, प्रहरी वरिष्ठ उपरीक्षकसहित मंगलबार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
‘लामो समयसम्म फोहोर नउठाउँदा महानगरसँगै उपत्यकामा प्रदुषण बढ्ने भएकाले सरोकारवाला निकायसँगको छलफलपछि फोहोर उठाउने निर्णयमा पुगेका छौँ,’ काठमाडौँ महानगरपालिकाका प्रमुख शाक्यले भने,’ ‘स्थानीय समस्या भए हामी समाधान गर्छौ। हामीले समाधान गर्न नसक्ने समस्या सम्बन्धित निकायसँग पहल गर्छौँ। तर, लामो समयसम्म फोहोर नउठाउने कुरा हुँदैन।’ उनले फोहोर व्यवस्थापनका लागि विभिन्न निकायसँग निरन्तर छलफल गरिरहेको पनि जानकारी दिए।
‘सिसडोलमा फोहोर व्यवस्थापनको काम ०६२ सालदेखि हुँदै आएको छ । त्यसको सबै जिम्मेवारी शहरी विकास मन्त्रालयको हो', उनले भने, 'काठमाडौँ महानगरपालिकाको जिम्मेवारी भनेको त्यहाँ लगेर फोहोर व्यवस्थापन गर्ने मात्रै हो।’ अहिले पनि हामीले प्रधानमन्त्री र विभिन्न निकायसँग फाहोर व्यवस्थापनका लागि सहयोगको अपील गरिएको उनले बताए।
शाक्यले स्थानीयहरुलाई कुनै पनि असर नपर्ने गरी फोहोर व्यवस्थापन गर्ने गरी निरन्तर लागेको जानकारी दिए । ‘काठमाडौँ महानगरपालिकाले विगतका दिनमा पनि सिसडोलबासीका विभिन्न माग सम्बोधन गर्दै आएको छ,’ शाक्यले भने, ‘अहिले पनि उहाँहरुका जायज माग पूरा गर्न हामी सकारात्मक छौँ।’
काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद रिजालले बैठकमा सकारात्मक छलफल भई फोहोर उठाउने निर्णय भएको जानकारी दिए। ‘बैठकले मोटामोटी तीन–चार ओटा निर्णय गरेको छ,’ पराजुलीले भने, ‘पहिलो निर्णय नै काठमाडौँ उपत्यकाको फोहोर भोलि बुधबार विहान ६ बजेबाट उठाउने भयो ।’
उनले त्यहाँ जाने बाटो सडक विभागले काठमाडौँ महानगरपालिकसँग समन्वय गरेर बाटोको तत्काल व्यवस्थापन गर्ने दोस्रो निर्णय भएको जानकारी दिए। ‘फोहोर उठाउन र त्यहाँ व्यवस्थापन गर्ने सन्दर्भमा सुरक्षा चुनौति देखियो भने शान्ति–सुरक्षाको व्यवस्था गृह प्रशासनले मिलाउने भन्ने भएको छ,’ उनले भने, ‘त्यसका लागि जिल्ला प्रशासन कार्यालय नुवाकोट र काठमाडौँबीच समन्वय गरेर सुरक्षाको प्रवन्ध मिलाउने र तत्काल फोहोर व्यवस्थापन गर्ने भन्ने भएको छ ।’
पराजुलीले स्थानीय अवरोध भए बल प्रयोग गरेर भए पनि फोहोर व्यवस्थापन गर्ने जानकारी दिए। ‘फोहोर नगरपालिकाले उठाउँछ । स्थानीय स–साना विषय भए त्यो महानगरपालिकाले समन्वय गर्छ,’ पराजुलीले भने, ‘मैले प्रहरीलाई स्पष्ट आदेश दिएको छु । उहाँहरुको स्थानीय समस्या भए लेखेर दिनुहोला । कसले सम्बोधन गर्ने हो छलफल गरेर अघि बढ्छौँ । तर, अवरोध गर्ने भन्ने हुन्न।'
काठमाडौँका प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक अशोक सिंहले पनि सकेसम्म शान्तिसुरक्षा कायम गर्दै फोहोर व्यवस्थापन गर्ने र नभए बल प्रयोग गर्ने जानकारी दिए। ‘स्थानीय व्यक्तिका समस्या छन् भने त्यसको सुनुवाई गर्ने प्रयास हुन्छ,’सिंहले भने, ‘त्यति गर्दा पनि अवरोध कायम भए कारवाहीको दायरामा ल्याएर भए पनि फोहोर व्यवस्थापन गर्छौँ ।’
बैठकमा सडक विभागका महानिर्देशक अर्जुनजंग थापाले महानगरपालिकसँग समन्वय गरेर अघि बढ्ने बताए। काठमाडौँ महानगरपालिकाका प्रमुख शाक्यले सोमबार प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरी फोहोर व्यवस्थापनमा सहयोग गर्न अपील गरेका थिए।