काठमाडौं । शिक्षासेवी प्राध्यापक तोयानारायण पौडेलले नेपालको शैक्षिक स्तर विश्वका उत्कृष्ट १० देशभित्र पर्ने गरेकोमा कोभिड पश्चात यसको स्तर खस्किएको बताएका छन् ।
क्यापिटल टेलिभिजनको साप्ताहिक कार्यक्रम ‘सर्वशिक्षा’ मा बोल्दै पौडेलले सूचना र प्रविधिको विकास भएपनि त्यसको सही रुपमा सदुपयोग गर्न नसक्दा कोभिडको बेला यसले झनै जटिलता ल्याएको बताए । उनले भने, ‘सूचना र प्रविधिले केही सजिलो त बनाएको छ । तर त्यसलाई हामीले न त समानुपातिक रुपमा वितरण गर्न सक्यौं, न त सही रुपमा हामीले प्रयोग नै गर्न सक्यौं ।’
शैक्षिक क्षेत्रलाई राज्यले अझैपनि उपेक्षा गरेको बताउँदै पौडेलले नेपालमा ‘ब्रेन ड्रेन’ को खतरा बढेको बताए । उनले दक्ष जनशक्ति जति विदेश पलायन हुने खतरा बढेको बताए ।
पौडेलले भने, ‘दक्ष जनशक्ति पनि विदेश पलायन हुँदा राष्ट्र नै पछाडि पर्ने खतरा देखिएको छ । राज्यले शिक्षा क्षेत्रलाई उपेक्षा गर्न थाल्यो । कुनै पनि देशको विकासको निम्ति शिक्षाको विकास हुनु जरुरी छ ।’
अहिलेको अवस्थामा आउनुमा शिक्षाप्रति राज्यले लिएको कमजोर दृष्टिकोण नै मुख्य कारक भएको बताउँदै पौडेलले विद्यालयदेखि विश्वविद्यालयसम्मको शैक्षिक गतिविधिलाई चलायनमान गराउन नसक्दा यो समस्या आएको बताए ।
पछिल्लो समयमा व्यवहारिकतालाई भन्दा सैद्धान्तिक पक्षका पछि लागेका कारण नेपालको शैक्षिक क्षेत्रमा ठूलो समस्या आउने चेतावनी दिँदै पौडेलले भने, ‘हामीले स्कूल एजुकेशनलाई विगार्ने काम गरेका छौं । हामीले पास गराउने शिक्षा मात्र दिने काम गरेका छौं । त्यसैमा विद्यार्थी, शिक्षक र अभिभावक पनि दंग परेका छौं । गुणस्तरीय शिक्षामा खासै ध्यान दिन सकिएन । यसले नेपालको शैक्षिक क्षेत्रको गरिमालाई झनै गिराउने हो कि भन्ने चिन्ता मलाई लागेको छ ।’
विगत केही बर्षयता शिक्षा क्षेत्रको जग विद्यालय शिक्षालाई कमजोर बनाउन काम भएको बताउँदै पौडेलले जबसम्म विद्यालय शिक्षालाई बलियो बनाउन सकिँदैन तबसम्म शिक्षाको गुणस्तरीयलाई बृद्धि गर्न नसकिने बताए ।
उनले भने, ‘हाम्रो आधारभूत शिक्षा नै कमजो भयो । फाउण्डेशन नै कमजोर बनाउने काम गरेका छौं । स्कूल एजुकेशन र ‘प्लस टु’को एजुकेशन विगार्ने काम भयो । अहिलेपनि ९० प्रतिशत कलेजमा विद्यार्थीको ‘फेल रेट’ हामीले कल्पना गरेभन्दा ठूलो छ । ‘प्लस टु’मा ९५ विद्यार्थी पास हुने बेचलरमा ९५ प्रतिशत विद्यार्थी फेल हुने किन ? यहाँ ग्याप त ठूलो छ नि त । हामी पास गराउन मात्र लाग्यौ । विद्यार्थीले के सिक्यो भन्नेतिर लागेनौं । यो ठूलो समस्या हो ।’
एसईई र ‘प्लस टु’ मा कोही पनि फेल नहुने व्यवस्था गर्नु भनेको नेपालको शैक्षिक क्षेत्रमा गम्भीर त्रुटी भएको बताउँदै पौडेलले राज्यले विद्यार्थीको भाविष्य माथि नै खेलबाड गरेको बताए । उनले भने, ‘अहिले ‘प्लस टु’मा सामेल हुने विद्यार्थी कोही नि फेल हुँदैन । यसले गर्दा विद्यार्थी पास चाहिँ भयो तर उसको क्षमता बृद्धि भएन । राज्यबाट उसको भविष्माथि खेलबाड गर्ने काम भयो । अहिले प्रविधि त बढ्यो, शिक्षाको स्तर बढ्न सकेन ।’