काठमाडौं । सत्ता गठबन्धनले मन्त्रिपरिषद्लाई चाँडै पूर्णता दिने निर्णय गरेको छ ।
आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले मन्त्रिपरिषद्लाई चाँडै पूर्णता दिने निर्णय गरेको बैठकमा सहभागी कांग्रेस नेता पूर्णबहादुर खड्काले जानकारी दिए ।
गठबन्धनका सबै पार्टीका सचेतकहरु बसेर प्रतिवेदन तयार गर्ने र त्यसका आधारमा गठबन्धन अगाडि बढ्ने निर्णय भएको उनले जानकारी दिए ।
बैठकमा सरकारले अहिलेसम्म गरेका कामको समीक्षा गरेको खड्काको भनाइ छ ।
उनका अनुसार पूर्ववर्ती केपी शर्मा ओली सरकारले अध्यादेशमार्फत ल्याएको आर्थिक वर्ष २०७८÷७९ को बजेट सच्याउने निर्णय गठबन्धनको बैठकले गरेको छ ।
गठबन्धनमा नेपाली कांग्रेस, नकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी, राष्ट्रिय जनमोर्चा रहेका छन् ।
आजको बैठकमा नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई लगायतका शीर्ष नेताहरुको सहभागीता थियो ।