काठमाडौं । भाद्रकृष्ण अष्टमी (मध्यरात्रीव्यापिनी) लाई मोहरात्री भनिन्छ , यो भगवान श्रीकृष्णको जन्म तिथि हो । भगवानको जन्महुँदा कंशका कारागार(जेलमा) रहेका पालेहरु भगवानका मायाले मोहित भई बेहोस भएका र बसुदेवले श्रीकृष्णलाई सकुशल गोकुल नन्दयशोदाका घरमा पगाएको आख्यान छ । यस कारण यस रात्रीको नाम मोह रात्रि भएको हो ।
आश्विन शुक्ल अष्टमी (मध्यरात्रीव्यापिनी) लाई कालरात्री भनिन्छ । यो रात्रि देव आराधना र बिशेष अनुष्ठानका लागि प्रसिद्ध छ ।
कार्तिक कृष्ण आमावश्या (सायंकालव्यापिनी) सुखरात्रीका नामले प्रसिद्ध छ । यसलाई दिपावली पनि भनिन्छ । यो पर्व सुख ऐश्वर्य आदिकी अधिष्ठात्री भगवती लक्ष्मीको आराधनाका लागि प्रसिद्ध छ ।
फाल्गुन कृष्ण चतुर्दशी (मध्यरात्रीव्यापिनी) शिवरात्रि हो, यो पर्व भगवान शिवको आराधनाका लागि प्रसिद्ध छ ।
उक्त रात्रिकालिक पर्वहरु उदयकालिक तिथिमा आधारित नभई कालव्यापी हुन्छन् साथै यी पर्वहरुमा गरिने पुजा रात्रिमै हुन्छन् । रात्रिमा जागरण पनि गरिन्छ । जस्तै भाद्रकृष्ण सप्तमी उदय भएर मध्यरात्रीमा अष्टमी प्राप्त हुन्छ र भोलिपल्ट उदयव्यापी अष्टमी भए तापनि मध्यरात्री भेट्दैन भने अघिल्लै (सप्तमी उदयका दिन) मोहरात्री हुन्छ । यद्यपी श्रीकृष्णजन्माष्टमी व्रतमा भने आआफ्ना स्थान, परम्परा अनुसार केहि विशेष नियम पनि छन् ।
आश्विन शुक्ल सप्तमी उदय तिथि भई मध्यरात्रीकालमा अष्टमी तिथि आउँछ र भोलिपल्ट उदय अष्टमीले मध्यरात्रि भेट्दैन भने सोहि दिन कालरात्री हुन्छ ।।
आज श्रीकृष्ण जन्माष्टमी तथा मोहरात्री । आजको दिनलाई गोकुलष्टमी, अष्टमी रोहिनी, श्रीकृष्ण जयन्ती, श्री जयन्ती वा कहिलेकाही साधारण भाषामा जन्माष्टमी भन्ने गरिन्छ । भगवान विष्णुको आठौँ अवतारको रूपमा श्री कृष्णको जन्मदिनको अवसरमा मनाइने वार्षिक पर्व । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान श्रीकृष्णको जन्म द्वापरयुगमा हिन्दू पञ्चाङ्ग अनुसार भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई श्रीकृष्ण जन्माष्टमी भनिएको हो ।
मोहरात्रीका लागि बिषयमा माथि नै उल्लेख गरिसकिएको छ । अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट मानवमात्रको संरक्षण गर्न भगवान् विष्णुको आठौँ अवतारको रूपमा जन्मेका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गर्नुभएको थियो । कुरुक्षेत्रमा कौरवहरूसँगको लडाइँमा संलग्न पाण्डवहरू मध्येका अर्जुनलाई उपदेश दिने क्रममा स्वयं भगवानका मुखारविन्दबाट व्यक्त श्रीमद्भागवत गीता पवित्र ग्रन्थ मानिन्छ । बाल्यकालदेखि नै आफ्ना विचित्र लीला देखाउनुभएका श्रीकृष्णले पुतना, कंस, जरासन्ध, शिशुपालजस्ता दानवी प्रवृत्तिको संहार गर्नुभएको थियो ।
देवकी तथा वसुदेवका आठौँ सन्तानको रूपमा कृष्णको जन्म भएको थियो ।
कंशले सुरूका छ सन्तानलाई मारेपछि देवकीले सातौँ सन्तानलाई गायब पार्नुभएको थियो । आठौँ सन्तानको रूपमा कृष्णको जन्म भयो । धर्म रक्षाकै लागि भगवान श्रीकृष्णले जन्म लिनुभएको थियो । लिलाकै रुपमा जन्म लिनुभएका उहाँले आफ्नो भौतिक शरिरको जिवनकालमा धेरै लिला गर्नुभयो । जुन सबै यहाँ उल्लेख गर्न सम्भव नै छैन । यसका लागि श्रीकृष्ण लिला समेटिएको श्रीमद्भगवत पुराण प्रसिद्ध छ ।