मनाङ । गत जेठ १४ र असार १ गते आएको बाढी पहिरोले सिँचाइ तथा खानेपानीमा ठूलो मात्रामा क्षति पुर्याएको छ । बाढी पहिरोले पुर्याएको क्षतिको विवरण सङ्कलन गरी प्रतिवेदन तयार पारिएको छ । सङ्कलित क्षतिको विवरण सिँचाइ तथा खानेपानी डिभिजन कार्यालयले प्रतिवेदन तयार पारेको हो ।
बाढीपहिरोले क्षति पुर्याएको साढे दुई महिना पुग्न लाग्दा प्रतिवेदन तयार भएको छ । डिभिजनले बाढी पहिरोको कारण क्षतिग्रस्त सिँचाइ तथा खानेपानीको संरचना पुनःनिर्माणको वास्तविक लागत अनुमान तयार गर्नाका साथै सिँचाइको सम्भावनासहित तयार गरेको प्रतिवेदन बुझाएको छ ।
सिँचाइ डिभिजनले तयार पारेको प्रतिवेदन ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालय गण्डकी प्रदेशलाई बुझाएको डिभिजन प्रमुख ढाकाराम आचार्यले जानकारी दिए । “एक दिनको बाढी पहिरोले धेरै क्षति पुर्यायो, तर विवरण सङ्कलन तथा सम्भाव्यता अध्ययनका लागि लामो समय लाग्यो ।”
गत असार १ गतेपछि पनि वर्षा हुन कम नहुँदा बाढी आउने क्रम जारी रह्यो । मनसुन वर्षा रोकिएपछि मर्स्याङ्दी नदीमा बाढी आइरहँदा तथ्याङ्क सङ्कलनमा ढिलाइ भएको हो । सिँचाइ तथा खानेपानीका मुहान तथा भौतिक संरचनाको नदी कटानबाट बचाउन र चालू आर्थिक वर्षमा उपलब्ध बजेटको सीमाभित्र रही अल्पकालीन तथा दीर्घकालीन सम्भाव्यता समाधानका लागि सम्बोधन गराउने प्रयत्नमा रहेको उनले बताए ।
बाढी पहिरोबाट बढी प्रभावित क्षेत्र नासो गाउँपालिकाका ताल बजार, सिरान ताल, खोत्रो, धारापानी, थोचें, बगरछाप, दानाक्यू, चामे गाउँपालिकाको तिमाङ, थान्चोक, कोतो, चामे बजार र ङिस्याङ गाउँपालिकाको भ्राताङ, पिसाङसम्मका बस्ती, विद्यालय, सार्वजनिकस्थल, पूर्वाधारका संरचनालगायतका खानेपानी, सिञ्चाईको क्षतिको पहिचान र पुनःस्थापनाका लागि अल्पकालीन तथा दीर्घकालीन उपायसहित प्रतिवेदन तयार पारिएको छ ।
ऊर्जातर्फ बाढी पहिरोले नासों गाउँपालिकाअन्तर्गत डोना खोला लघु जलविद्युत् आयोजना धारापानी, ग्वा खोला लघु जलविद्युत् आयोजना तिल्चे, सदरमुकाम चामे गाउँपालिकाको स्यार्कु खोला लघु जलविद्युत आयोजना, चामे लघु जलविद्युत् आयोजना र ङिस्याङ गाउँपालिका अन्तर्गत सब्जे खोला लघु जलविद्युत् आयोजनामा क्षति पुगेको छ ।
नासों र चामेको लघु जलविद्युत् आयोजनामा पूर्ण क्षति पुगेको छ भने ङिस्याङको लघु जलविद्युत् आयोजनामा आंशिक क्षति पुगेको प्रतिवेदनमा उल्लेख छ । नदी र खोला किनारमा रहेकाले बाढीको कटानले पावर हाउस, इन्टेक, फोर वे पूर्णरुपमा क्षति भएको छ । भर्खर मात्र राष्ट्रिय प्रसारण लाइनमा जोडिएको नेपाल विद्युत् प्राधिकरण मनाङको जनताका लागि आधारभूत ऊर्जाको स्रोत नै लघु जलविद्युत् रहेको हुँदा मन्त्रालयबाट ऊर्जासम्बन्धी विज्ञको टोली तुरुन्त उक्त क्षेत्रमा परिचालित गरी लागत र सम्भाव्यता अध्ययन गरिएको तथा सोही बमोजिम सुचारु गर्ने तयारी भइरहेको प्रतिवेदनमा उल्लेख छ ।
खानेपानीतर्फ नासो गाउँपालिका अन्तर्गतको थोचे खानेपानी आयोजना, घेलान्चोक ओडार खानेपानी आयोजना, धारापानी खानेपानी आयोजना र नाचे खानेपानी आयोजना, चामे गाउँपालिका अन्तर्गत थान्चोक खानेपानी आयोजना, वृहत चामे खानेपानी आयोजनामा क्षति पुगेर मर्मत तथा पुनःनिर्माण गर्नुपर्ने अवस्थामा रहेको प्रतिवेदनमा जनाइएको छ । ङिस्याङ गाउँपालिका अन्तर्गत पिसाङ खानेपानी आयोजना, घ्यारु खानेपानी आयोजना, खाङ्सार खानेपानी आयोजना र ढिकुरपोखरी खानेपानी आयोजना पूर्ण क्षति भएको छ ।
त्यस्तै सिँचाइतर्फ खाङ्सार सिँचाइ योजना, ताचै सिँचाइ योजना, क्युपार सिँचाइ योजना, भ्राताङ सिँचाइ योजना, सब्जे र क्युबेँशी सिँचाइ योजनामा बाढीले क्षति पुगेको जनाएको छ । यी योजनाको मर्मत तथा सम्भार पुनःनिर्माणका लागि मन्त्रालयलाई जानकारी गराइ आग्रह गरिएको छ ।