काठमाडौं । पहिरोको कारण विभिन्न सात जिल्लामा सडक अवरुद्ध भएको छ । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२, सिमखोलास्थित हेटौँडा–भीमफेदी–काठमाडौं सडकखण्डमा पहिरो जाँदा सडक अवरुद्ध भएको छ । नवलपरासी (पूर्व)को गैँडाकोट नगरपालिका–९, थुम्सीस्थित पूर्व–पश्चिम राजमार्गमा रहेको डाइभर्सनमा रुखहरूसहितको पहिरो जाँदा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।
यस्तै, गैँडाकोट नगरपालिका–१० सशस्त्र वेस क्याम्पनजिकै रहेको डाइभर्सन र सोही गैँडाकोट–११, भेडाबारीमा रहेको डाइभर्सनमा समेत वर्षात्को कारण पानी ‘ओभर फ्लो’ भई पूर्व–पश्चिम राजमार्ग पूर्ण रूपमा अवरोध भएको छ । यसैगरी, विनयी त्रिवेणी गाउँपालिका–२, दाउन्नेस्थित पूर्व–पश्चिम राजमार्गमा बिहीबार राति पहिरो जाँदा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।
नवलपरासी (पश्चिम)को बर्दघाट नगरपालिका–१०, लन्डनब्रिजस्थित पूर्व–पश्चिम राजमार्गमा कल्भर्ट भासिँदा सडक अवरुद्ध भएको छ । डोटीको जोरायल गाउँपालिका–१, गोल्डेन भन्ने स्थानमा पहिरो जाँदा धनगढी–डडेलधुरा सडकअन्तर्गत भीमदत्त राजमार्ग अवरुद्ध भएको छ। कैलालीको चुरे गाउँपालिका–५, खानीडाडाँस्थित भीमदत्त राजमार्गमा अविरल वर्षाको कारण पहिरो जाँदा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ ।
सिन्धुलीको फिक्कल गाउँपालिका–६, बुधबारेस्थित मध्यपहाडी राजमार्गमा लेदोसहितको पहिरो खस्दा सडक अवरुद्ध भएको छ । यस्तै, सुनकोसी गाउँपालिका–२, कमेरेफाडस्थित बीपी राजमार्ग र कमलामाई नगरपालिका–८, करकरे र बाघमारामा समेत पहिरो जाँदा सडक अवरुद्ध भएको छ ।
तनहुँको भानु नगरपालिका–१, अधेरीखोलास्थित डुम्रे–बेसीसहर सडकमा पहिरो जाँदा सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।