काठमाडौं । त्रिभुवन विश्वविद्यालयले पुस मसान्तभित्र रोकिएका सबै संकायअन्तर्गतका तहको परीक्षा सम्पन्न गर्ने तयारी गरेको छ । त्रिविले मंसिर २८ बाट सञ्चालन हुने गरी विज्ञान तथा प्रविधि, व्यवस्थापन र शिक्षा संकायतर्फको चार वर्षे बीएससी, बीबीएस, र बीएडतर्फका नियमित र आंशिकतर्फको परीक्षा तालिका सार्वजनिक गरेसँगै सबै तहको परीक्षा सञ्चालन गर्ने तयारी गरेको हो ।
विश्वविद्यालयले अन्तिम तहको कार्यतालिका सार्वजनिक गरिसकेको छ । त्यसपछि पुसभित्रमा सकिने गरी अन्य तहको परीक्षा सञ्चालन गर्ने रजिस्ट्रार प्राडा पेशल दहालले जानकारी दिनुभएको छ ।
त्रिविले कुन विधिबाट परीक्षा सञ्चालन गर्ने भन्ने विषयमा ठोस निर्णय भने गर्न सकेको छैन । रजिस्ट्रार प्राडा दाहालका अनुसार सकभर भौतिकरुपमै उपस्थित भएर परीक्षा दिने व्यवस्था गरिएको छ । त्रिविले पायक पर्ने स्थानीय निकायको केन्द्रबाट परीक्षा दिने व्यवस्था गरेको छ । त्रिविले कोभिड–१९ को कारण सबै विद्यार्थी उपत्यका, सदरमुकाम, शहरमा आउन नसक्ने भएपछि घरपायक केन्द्रबाट परीक्षा दिन मिल्ने गरी अनलाइन फारम भरिसकेको छ ।