काठमाडौं - योमरी पूर्णिमा नेवार जातिले मनाउने एक पर्व हो ।
नेवार समुदायमा नयाँ बालीका रुपमा धान भित्र्याएपछि विभिन्न देवी देवतालाई योमरी बनाएर पूजा गरी यो पर्व मनाउने गरिन्छ ।
योमरीले जाडोमा शरीरमा आवश्यक ताप र उर्जा दिने र चिसोबाट लाग्ने रोग निको हुने भएकाले स्वास्थ्यका लागि निकै फाईदाजनक मानिन्छ ।
योमरी यसरी बनाइन्छ
योमरी नयाँ धानको चामलको पिठोबाट बनाइन्छ । योमरीका लागि ताइचिन धानको चामलको पिठो भए राम्रो मानिन्छ।
सुरुमा चामलको पिठोलाई घिउ हालेर तातो पानी हाल्दै नरम हुनेगरी मुछ्नुपर्छ । त्यसपछि हावाबाट बचाउन सफा मलमलको कपडाले छोप्नुपर्छ।
त्यसपछि पिठोको डल्लोलाई चोर औँलाले छेड्नुपर्छ। औँला घुमाउँदै जाँदा पिठोको डल्लो पातलिँदै जान्छ। पातलो डल्लो झण्डै शङ्खको आकारमा परिणत हुन्छ। यसरी गर्दै जाँदा माथिल्लो भाग मन्दिरको गजुर जस्तै चुच्चो पर्दै जान्छ र तल्लो भागमा खोक्रो ठाउँ बन्छ।
त्यो भागमा चाकु राखेर बन्द गरि योमरी बनाइन्छ । आजभोलि खुवा, मासु, गुँदपाक, मास र मुँगी राखेर पनि बनाउने चलन छ।
योमरी तयार भएपछि एउटा भाँडोमा पानी उमाल्ने र उम्लिएको पानीको भाँडोमा पिँधमा प्वाल प्वाल भएको हाँसी ( माटोको विशेष प्रकारको भाँडो ) मा राखिन्छ। अचेल मःमः पकाउने भाँडाको पनि प्रयोग गरिन्छ।
हाँसीमा करिब पाँच मिनेट जति बफ्याएपछि योमरी तयार हुन्छ। पानीको बाफले पाक्ने योमरी निकै स्वादिलो हुन्छ