नेपालमा कोरोनाको जोखिम बढेसंगै पुनः लकडाउन गर्ने कि नगर्ने भन्नेबारे विज्ञहरुबाट प्राप्त सुझावलाई कार्यान्वयनमा लैजाने प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिबद्धता जनाउनुभएको छ ।हिजो प्रधानमन्त्री निवास बालुवाटारमा बसेको जनस्वास्थ्य बिज्ञहरु र सिसिएमसीका पदाधिकारी सहितको छलफलमा ओलीले बिज्ञहरुको सुझावलाई कार्यान्वन गरिने बताउनुभएको हो ।
छलफलमा स्वास्थ्य क्षेत्र, राजनीतिक क्षेत्र र आर्थिक क्षेत्रका विज्ञहरुहरुको पनि उपस्थिती रहेको थियो ।करिब ४ घण्टा चलेको छलफलमा सहभागी अधिकांशले पुनः लकडाउन गर्नुपर्ने सुझाव दिएका छन् । भने कतिपयले कडा कदम चाल्दै कर्फ्यु नै लगाउनु पर्ने सुझाव दिएका थिए ।
त्यसैबीच, वरिष्ठ चिकित्सक डा. सुन्दरमणि दीक्षितले अहिलेसम्म कोभिड–१९ को संक्रमण रोगको रुपमा नदेखिएको तर समुदायस्तरमा फैलिँदै गए रोगको रुपमा देखापर्न सक्ने बताउनुभएको छ । कोरोना रोकथामका लागि सरकारले गरेको कामलाई हेर्दा अबको केही दिनभित्रै संक्रमण रोगको रुपमा देखापर्ने निश्चित भएको उहाँको भनाइ छ ।
इपिमिडियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वप्रमुख एवं सरुवारोग विशेषज्ञ डा. बाबुराम मरासिनीले संक्रमण देखिएको क्षेत्रबाट नदेखिएको क्षेत्रमा आवतजावतमा कडाइ गर्नुपर्ने र काठमाडौं उपत्यकासहित सीमा क्षेत्रमा रहेका बस्तीमा परीक्षणको दायरा बढाउनुपर्ने बताउनुभयो ।
त्यस्तै, डा. प्रकाशराज रेग्मीले सामाजिक सन्जाल ट्वीटरमा कोरोना आक्रामक भएको उल्लेख गर्नुभएको छ । धेरै लक्षणात्मक घटनाहरू बढ्नुका साथै मृत्युदर वृद्धि भइरहेकाले कम्तिमा १४ दिनको लागि तुरुन्त लक लकडाउन आवश्यक रहेको उहाँको भनाइ छ ।